२१ बैशाख २०८१, शुक्रबार

व्यापारमा भन्दा उत्पादनमुलक उद्योगमा लगानी गर्न निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह

प्रकाशित मिति :  11 April, 2023 1:56 pm


अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रले व्यापारमा भन्दा उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न जरुरी भएको बताए ।
मंगलवार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधरण सभामा बोल्दै अर्थमन्त्री डा. महतले मुलुकको अर्थतन्त्र सुधार गर्नको लागि निजी क्षेत्रले व्यापारमा मात्रै नभइ उद्योग व्यवसायमा लगानी केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

अर्थमन्त्री महतले सरकारको पनि प्रभावकारीता र पारदर्शीता बढाउन आवश्यक रहेको बताए । उनले निजी क्षेत्रले उत्पादनमुलुक उद्योग व्यवसायमा लगानी केन्द्रित गरे सरकारले लगानीको वातावरण सहज बनाउनको लागि अल्पकालिन,मध्यकालिन र दीर्घकालिन उपायहरुको व्यवस्था गर्ने बताए । 

उनले भने ‘सरकारका पनि कमी कमजोरीहरु रहेका छन् । सरकारले समयमा नै खर्च गर्नसकेको छैन । त्यो स्वीकार गर्नुपर्छ । समग्र सरकार र निजी क्षेत्र सबैतिर समस्या रहेको छ । राजनीतिक, निजी क्षेत्र र कर्मचारी तन्त्रमा समेत समस्या छ । त्यसैले सरकारको प्रभावकारीता बढ्न जरुरी छ । पारदर्शीता बढाउन जरुरी छ । निजी क्षेत्रको पनि व्यापारमा मात्रै केन्द्रित भइरहेको अवस्था छ । अब लगानीतर्फ केन्द्रित गर्न जरुरी छ । सरकारले लगानीको वातावरण सहज बनाउनको लागि अल्पकालिन,मध्यकालिन र दीर्घकालिन उपायहरु गर्छौं ।’

अर्थमन्त्री डा.महतले अन्तर्राष्ट्रिय स्तरमा भइरहेका युद्धहरुको प्रभाव नपरे नेपालको आर्थिक वृद्धि ४ प्रतिशत भन्दा माथि हुने उल्लेख गर्दै अन्तर्राष्ट्रिय परिस्थिति राम्रो र युद्धको अन्त्य हुनसके नेपालको आर्थिक विकास,रुपान्तरण,पुँजी विकास र उद्योग व्यवसायमा लगानीका समस्या समाधान गरी अर्थतन्त्रमा सकारात्मक सुधार हुने विश्वास व्यक्त गरे ।

तत्कालका लागि सरकारको सम्पूर्ण ध्यान पुँजीगत खर्च गर्ने क्षमता प्रभावकारी बनाउने र साधरण खर्चलाई कम गर्नेमा रहेको उनकाे भनाईछ । सरकारले सामाजिक सुरक्षा,शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रमा गर्ने साधारण खर्च कम गर्न नसक्ने र सरकारले पुँजीगत खर्चमा वृद्धि गरी बजारमा तरलताको सहजता बनाई आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाए ।

अर्थमन्त्री महतले मौद्रिक नीतिको समीक्षा गर्नुपर्ने बेला भएको र काेभिड–१९ पछिको अर्थतन्त्रको दबाब कम गर्न लिइएको मौद्रिक नीतिको कारणले केही समस्या आएको भन्दै यसलाई फुकाउने समय भएको बताए ।

अर्थमन्त्री महतले घरजग्गाको कित्ताकाट सहज बनाउन पनि छलफल भइरहेको र घरजग्गाको कित्ताकाट सहज बजाउँदा मात्रै पनि बजार सहज हुने बताए ।



प्रतिक्रिया दिनुहोस !