सिंहदरबारको फोहोर नउठाएर महानगरले जनस्वास्थ्य माथी खेलवाड गर्यो: सञ्चारमन्त्री शर्मा
काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएर जनस्वास्थ्यमाथि खेलवाड गरेको बताएकी छिन् ।
बिहीवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रको फाहोर नउठाएर जनस्वास्थ्यमाथि खेलवाड गरेको बताएकी हुन्र ।
मन्त्री शर्माले गर्मीको समयमा फोहोर नउठाउनाले आम जनताको स्वास्थ्यमा असर पर्ने भन्दै आपत्ति जनाएकी हुन् । उनले कुनै अर्को उद्देश्य पुर्तिका लागि फोहोर नउठाएर हड्तालको विषय बनाइएको बताइन । मन्त्री शर्माले महानगरपालिकाको मेयरले भनेको विषय टुंगिएन भनेर जनताको स्वास्थ्यमाथि खेलवाड गर्न नपाइने बताएकी हुन् ।
संघीय सरकारले सहजीकरण गरेर टुंग्याउनुपर्ने विषयमा छलफल गर्नुपर्ने बताएकी उनले काठमाडौं महानगरपालिकाका मेयरले संविधान, कानुन र स्थानीय सरकार सञ्चालन एने बुझेर काम गर्नुपर्ने बताइन् ।
‘स्थानीय तहपनि सरकार हो । त्यसले संविधान पनि बुझ्नुपर्छ । त्यसले नीति पनि बुझ्नुपर्छ । कानून पनि बुझ्नुपर्छ र त्यो अनुसार चल्नुपर्छ,’ उनले भनिन्, ‘हाम्रो कयौँ नीतिगत व्यवस्था, संविधानका व्यवस्था, कानूनमा भएका व्यवस्था हामीलाई चित्त नबुझेका पनि हुनसक्छन् ।’








