२० बैशाख २०८१, बिहिबार

नयाँ वर्षका मेरा हरेक क्षण समृद्धिका लागि समर्पित हुनेछन्: प्रचण्ड

प्रकाशित मिति :  14 April, 2023 7:47 am


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नयाँ वर्ष २०८० मा देशकाे समृद्धिका लागि सक्रिय रहने बताएका छन् । राष्ट्र–निर्माणको साझा संकल्पका लागि नयाँ वर्ष उपयुक्त समय रहेकाे उनकाे भनाइ छ ।

नयाँ वर्षकाे शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, “नयाँ वर्षका मेरा हरेक दिन र हरेक क्षण संविधानको कार्यान्वय, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुनेछन् ।”

अर्थतन्त्रमा देखिएका संकट र चुनौती क्रमशः कम हुँदै गएकाे, वैदेशिक रोजगार व्यवस्थित हुँदै गएको, श्रमिकको अधिकार सुरक्षित गर्न महत्वपूर्ण सामाजिक सुरक्षा अभियानमा उनीहरू जोडिएका, नागरिकले प्राप्त गर्ने सेवाहरू झन्झटमुक्त बनाउने अभियान सुरू भएको लगायतकाे राम्राे सुरूवात भएकाे उनकाे भनाइ छ ।

“बैंक ब्याजदर कम हुँदै गएको छ । व्यवसायीहरुको बैंक ब्याज सम्बन्धी चिन्तालाई सम्बोधन गर्न सकारात्मक छलफल भइरहेको छ । राजश्व संकलनमा वृद्धि भइरहेको छ । परम्परागत प्रकृतिको विकासको मोडेल र योजना तर्जुमा प्रक्रियामा हामी क्रमभंग गर्न गइरहेका छौं ।” सन्देशमा भनिएकाे छ ।

नयाँ वर्षलाई पनि सहमति र सहकार्यमार्फत समृद्ध नेपालको आधार निर्माण गर्ने वर्षका रूपमा मनाउन उनकाे अपिल छ । प्रचण्डकाे शुभकामना मन्तव्यमा भनिएकाे छ, “संकल्प गरौं, सिंगो राष्ट्रको साझा संघर्ष र संकल्पबाट यो वर्ष केवल क्यालेण्डर परिवर्तन गर्ने छैनौं, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौं ।”



प्रतिक्रिया दिनुहोस !