माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा गोली लागेर घाइते,प्रहरी सहायक हवल्दार पुन पक्राउ
काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा गोली लागेर घाइते भएकी छन् ।
उनी बसेको घरमा गोली चल्दा ७४ वर्षीय तीर्थमाली पुन घाइते भएकी हुन् । हिजो बेलुकी साढे ९ बजेतिर प्रहरी सहायक हवल्दार रहेका नाति प्रकाशन पुनले बोकेको पेस्तोल पड्किदा पुन घाइते भएकी हुन् ।
तीर्थमालिको खुट्टामा गोली लागेको छ । पुनको ट्रमा सेन्टरमा उपचार भइरहेको र अवस्था खतरा मुक्त रहेको अस्पताल स्रोतले जनाएको छ ।
बालुवाटरस्थित वर्षमानका दाइको घरमा बसिरहेको बेला अचानक प्रकाशले बोकेको पेस्तोल पड्किएर तीर्थमालीलाई गोली लागेको थियो ।
पेस्तोल पड्किएपछि राति नै भागेका प्रकाशले प्रहरी समक्ष आत्मसर्मपण गरेका हुन् । प्रकाश कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुरक्षा टिममा खटिएका सदस्य हुन् ।
प्रकाशलाई प्रहरी प्रधान कार्यालयमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । सहयाक हवल्दार पुनको पेस्तोल असावधानिवस पड्किएको हो वा नियतबस भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।








