सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा पौडेलसहित ९ जना विरुद्ध भ्रष्टचारको मुद्दा दायर
काठमाडौं । अख्तियार अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले सुरक्षण मुद्रण केन्द्रका सीईओ विकल पौडेलसहित ९ जनाविरुद्ध सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज टेंकको पावर सिस्टम खरिदमा भ्रष्टाचार गरेको ठहर गरेको हो ।
आयोगले आइतबार (आज) सीईओ पौडेलविरुद्ध ६९ करोड ८ लाख ८१ हजार ८५४ रुपैयाँ बिगो दाबी सहित विषेश अदालतमा मुद्दा दायर गरेको जनाएको छ । ।
आरोपीहरूले बदनियत पूर्वक मिलेमतोमा अस्वाभाविक लागत अनुमान तयार गरेको र स्वीकृत सम्झौता विपरीत ट्रान्सफर्मर र जेनेरेटर स्वीकार गरेको आयोगको अनुसन्धान निष्कर्ष छ ।
आयोगले मेकानिकलतर्फका तत्कालिन सीडीई नवीनकुमार पोखरेलविरुद्ध ४९ करोड ४६ लाख ३५ हजार ९ सय ४५ रुपैयाँ बिगो माग गरेको छ। पोखरेल हाल वन तथा वातावरण मन्त्रालयमा कार्यरत छन् ।
शाखा अधिकृत मनिकमान महर्जन, तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा, शाखा अधिकृत शिरिष उपाध्याय, इन्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधान, मेपटेक विल्डिङ सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जन र परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौविरुद्ध पनि मुद्दा दायर भएको छ ।
आयोगले ९ जनासँग २ अर्ब ६९ करोड ४० लाखभन्दा बढी बिगो मागवादी लिएर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आरोपीहरूले सम्झौतामा उल्लेख भएभन्दा फरक ‘कन्ट्री अफ ओरिजिन’ भएको जेनेरेटर स्वीकार गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।








