१३ बैशाख २०८१, बिहिबार

नेपालमा पहिलाेपटक विद्यालयमा ट्राफिक क्लब गठन गरि सडक अनुशासन सिकाउँदै काठमाडौँ महानगर

प्रकाशित मिति :  20 May, 2023 7:28 pm


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यार्थीलाई ट्राफिक नियम, सडक सुरक्षा र सडक अनुशासन सिकाउन विद्यालयमा ट्राफिक क्लब गठन गरेको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अग्रसरतामा विद्यालय स्तरका बालवालिकालाई ट्राफिक नियम सम्बन्धी जानकारी दिन नेपालमा नै पहिलो पटक विद्यालयमा ट्राफिक क्लब स्थापना भएको हो ।

महानगरले डिल्लीबजारस्थित पद्मकन्या माध्यमिक विद्यालयमा ट्राफिक क्लब गठन गरि यसको सुरुवात भएको हो । क्लब गठनपछि प्रतिक्रिया दिदैँ बालेनले भने ‘मैले मेयर पदमा उम्मेदवारी दिने समयमा ट्राफिक व्यवस्थापन गर्ने कामलाई प्रमुख प्राथमिकतामा राखेको थिएँ । मतदातासँग त्यसबेला गरिएको प्रतिवद्धता पूरा गराउने कार्यक्रम सुरु गर्दै, नेपालमा नै पहिलो पटक विद्यालयमा ट्राफिक क्लब स्थापना गरेका छौँ ।

बालबालिकालाई ट्राफिक नियम, सडक सुरक्षा र सडक अनुशासनका बारेमा व्यवहारिक ज्ञान दिन क्लब गठन गरिएको उनले जानकारी दिए । विद्यालय स्तरको उक्त क्लवमा १० जना सदस्य हुनेछन् ।

‘काठमाडौँका धेरै स्कूलहरू व्यस्त सडक किनारामा छन् । यस्ता विद्यालयका सदस्यहरु बिहान खुल्ने र साँझ विदा हुने समयमा सक्रिय हुन्छन् । उनीहरुले ४/४ जना को समूह बनाएर सडक पार गर्दा अपनाउने पर्ने सावधानी सम्झाउँदै पैदल यात्रुका दायित्वका विषयमा विद्यार्थीहरुलाई सम्झाउँछन् । उनीहरुलाई सडक पार गर्न सहयोग गर्ने जिम्मेवारी पनि क्लवका सदस्यहरुलाई दिइएको छ’ प्रमुख शाहले भने ।

क्लबलाई ट्राफिक कोन, स्टप, गो बोर्ड, ब्याटन लाइट, फ्लोरोसेन ज्याकेट लगायतका आवश्यक सामग्री दिइएको छ ।

यस्ता क्लब महानगर भित्र भएका सबै सामुदायिक विद्यालयमा स्थापना गर्दै लैजाने बालेनले बताए । ‘क्लब गठनको यो थालनी हो । उक्त क्लबले विद्यालयको पिक आवरमा बाटो काट्नको लागि सहयोग हुन्छ भन्ने अपेक्षा लिएका छौ । हामीले विद्यालयमा सडक सुरक्षाको बारेमा विभिन्न तालिम पनि दिएका छौ,’ प्रमुख शाहले भने



प्रतिक्रिया दिनुहोस !