१६ चैत्र २०८०, शुक्रबार

काठमाडौँ महानगरमा बालेन शाहको ‘बुक फ्रि डे’ प्रभावकारी बन्दै

प्रकाशित मिति :  28 May, 2023 11:27 am


काठमाडौँ । ज्ञान, सिप र क्षमता बढाउन किताबको भारी बोकेर विद्यालय जानु पर्दैन । काठमाडौँ महानगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्ना धारणा यसरी सुनाउन थालेका छन् । महानगरले हरेक शुक्रबारलाई ‘बुक फ्रि फ्राइडे’का रूपमा क्रियाकलाप गराउने कार्यक्रम थालनी गरेपछिको १ महिनामा विद्यार्थीहरूले यसबाट प्राप्त लाभका विषयमा अनुभव सुनाउन थालेका हुन् ।

कार्यक्रम सञ्चालनको प्रभावकारिता अनुगमन गर्न महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) आफैँ विद्यालयहरूमा पुग्ने गरेका छन् । हरेक हप्ता उनी कुनै न कुनै विद्यालयमा पुग्छन् । प्रमुखसँगै शिक्षा सल्लाहकार, शिक्षा विभागका प्रमुख सीताराम कोइरालासहित अधिकारीहरू पनि विद्यालयको अनुगमनमा जाने गरेका छन् ।

सरस्वती निकेतन माध्यमिक विद्यालय, ओन्दे विद्यालयले बुक फ्रि फ्राइडेका लागि बुधबार योजना बनाउँछ । यसअनुसार बिहीबार रूटीन तयार हुन्छ । विद्यालयले शिक्षामा सिप कार्यक्रम अन्तर्गत फेसन डिजाइन र टेलरिङ सिकाउन थालेको छ । यसमा एप्रोन र छ टुक्रे पेटीकोट सिलाउन सिकाउन थालिएको छ ।

विद्यालयका प्रधानाध्यापक रविना महर्जनले विद्यालयमा खेल मैदानका लागि ठाउँ नहुनुका साथै कक्षा कोठा साँघुरा रहेका समस्या व्यक्त गरेका थिए । उनले भने, “विद्यालयमा खेलमैदान नभएर नजिकै भएका कुनै खुल्ला स्थानको उपयोग गर्ने योजना बनाएका छौँ । यसमा महानगरको सहयोग चाहिन्छ ।”

त्यस्तै विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वर विद्यालयमा कोड क्लब सुरू गरिएको छ । यस क्लबमा कक्षा ८ का ७ जना विद्यार्थीको समूह बनाइएको छ । शिक्षण विधि, शिक्षण पद्धति, सिकाइसहित जीवन उपयोगी परियोजना बनाउने, सञ्चार गर्ने जस्ता रचनात्मक क्रियाकलापका लागि यो क्लब गठन गरिएको हो । क्लबमा ४ जना शिक्षक छन् । क्लबका विद्यार्थीहरूले खेल मैदानमा फुटबल, बास्केटबल खेले जसरी रमाउँदै नयाँ कार्यक्रम बनाउन सक्छन् । यसको आधार स्क्याच कोडिङ् हो।

विद्यालयमा सिपमा शिक्षा कार्यक्रमअन्तर्गत ब्युटिसियन (सौन्दर्य कला) तालिम चलाउन थालिएको छ । विद्यार्थी संख्या धेरै भएको र एउटै विधामा धेरै विद्यार्थीको रुचि भएपछि अवधि तोकेर तालिका निर्माण गर्ने योजना रहेको प्रधानाध्यापक हेरम्बराज कँडेलले योजना सुनाए । व्यवहारिक शिक्षा जरुरी थियो । कार्यान्वयनमा आयो । कँडेलले नीतिगत प्रबन्ध गरिदिएकोमा महानगरपालिकाप्रति आभार प्रकट गरे ।

प्रशिक्षक विमला रिजालले ब्युटिसियन तालिम सुन्दरतासँग मात्र होइन, स्वास्थ्यसँग पनि सम्बन्धित रहेकाे भन्दै नङ् काट्नु, कपाल काट्नु, सरसफाइ गर्नु जस्ता क्रियाकलाप सुन्दरताका लागि नगरे पनि स्वास्थ्यका लागि गर्नुपर्ने बताइन् ।



प्रतिक्रिया दिनुहोस !