६ बैशाख २०८१, बिहिबार

भीरकोट नगरपालिकाले मापदण्ड विपरित बाँड्याे ३४ लाखभन्दा बढी रकम

प्रकाशित मिति :  30 May, 2023 5:34 pm


स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाले मापदण्ड विपरित विभिन्र व्यक्तिहरूलाई निर्माण सामाग्रीदेखि अन्य शिर्षकमा रकम बाँडेको पाइएको छ । महालेखापरिक्षक कार्यालयको प्रतिवेदन २०७८/०७९ मा पालिकाले स्पष्ट प्रयोजन समेत नखुल्लाई विभिन्र व्यक्तिलाई रु. ३४ लाख ३४ हजार ६७० सहायता वितरण गरेको औंल्याएको छ ।

प्रतिवेदनका अनुसार सरकारको वार्षिक कार्यक्रममा परेका बाहेक कुनैपनि सरकारी तथा गैरसरकारी संस्थालाई आर्थिक सहायता र अनुदान नदिन र तोकिएको मापदण्ड भित्र रहेर मात्र क्षतिपूर्ति, आर्थिक सहायता तथा औषधी खर्च बापत आर्थिक सहायता प्रदान गर्नुपर्छ । तर नगरपालिकाले आर्थिक सहायता वितरण गर्नुपूर्व आर्थिक सहायता मापदण्ड एंव कार्यविधि तयार नगरेको महालेखाले जनाएको छ ।

प्रतिवेदनमा भनिएको छ, “सहायता पाउने व्यक्ति तथा संस्थाको अभिलेख राखी एउटै व्यक्ति वा संस्थालाई दोहोरो सहायता उपल्बध गराउने नहुने व्यवस्था सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न सम्बन्धी मापदण्ड, २०७७ मा उल्लेख छ । साथै उपरोक्त व्यवस्था प्रदेश सरकार तथा स्थानीय तहका सबै कार्यालयहरू, पदाधिकारी एंव कर्मचारीहरूले पालना गर्नुपर्ने उल्लेख छ ।”

महालेखाले उत्पादनशील क्षेत्रमा लगानी नगरी आर्थिक वृद्धि हासिल गर्न नसकिने भएकाले यस्ता प्रकृतिका खर्चमा कटौती गर्नुका साथै तोकिएको मापदण्डभित्र रहेर मात्र क्षतिपूर्ति, आर्थिक सहायता र औषधी उपचार खर्च गर्न पालिकालाई निर्देशन दिएको छ ।



प्रतिक्रिया दिनुहोस !