१४ बैशाख २०८१, शुक्रबार

आमलगानीकर्तालाई आयकरको दायरामा ल्याउने कुरा गलत : अर्थमन्त्री

प्रकाशित मिति :  8 June, 2023 1:30 pm


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारका आमलगानीकर्तालाई आयकरको दायरामा ल्याउने कुरा गलत रहेको बताएका छन्।

धितोपत्र बोर्डको ३१ औँ वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाण्डौमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले आयकरको दायरामा ल्याउने हल्ला गलत रहेको बताएका छन् ।

‘आगामी आर्थिक वर्षको आय–व्याय प्रस्तुत गर्दा सेयर बजारको विषयमा जे कुरा त्यहाँ उल्लेख भयो, यसको उद्देश्य आमलगानीकर्तालाई आयकरको दायरामा ल्याउने हुँदै होइन’, उनले भने, ‘सम्पूर्ण ५६ लाख लगानीकर्ता आयकरको दायरामा आउने भए भनेर सेयर बजारमा जुन हल्ला चल्यो त्यो गलत हो।’

अर्थमन्त्री महतले चलखेल गर्ने हेतुले केही लगानीकर्ताहरुले सबै लगानीकर्ताहरुलाई आम्दानीमा आयकर लाग्छ भन्दै हल्ला फिँजाएर घटाउने र बढाउने गरेर फाइदा लिएको बताए ।

उनले भने, “कहीँ कतै दुविधा नहोस्, कहीँ कतै भ्रम सिर्जना गर्ने कोशिस नहोस्, सेयर मार्केटलाई कमजोर गर्ने, यसप्रतिको विश्वासलाई कमजोर बनाउने, कुनैपनि काम हामीबाट हुँदैन । ”

सेयर बजारलाई प्रतिस्पर्धात्मक बनाएर लैजानुपर्छु, महतले भने ‘कमोडिटी बजारलाई पनि सेयर बजारमा प्रवेश गराउने चर्चा चलिरहेको छ । धितोपत्र बोर्डलाई अटोमेटेट सिस्टम लैजाने, हरेक क्रियाकलापलाई कागज रहित बनाएर लैजाने, कसैले अनपेक्षित फाइदा लिन नपाउने सुनिश्चिता गर्नेलगायतका कुरामा उच्च सर्तकता धितापत्र बोर्डले अपनाउनेछ।’



प्रतिक्रिया दिनुहोस !