आन्दोलन र क्रान्तिहरूका बाँकी सपनाहरू पूरा गर्न समाजवादी मोर्चा बनायौं : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा विभिन्न चरणमा भएका आन्दोलन र क्रान्तिहरूका बाँकी सपनाहरू पूरा गर्नका लागि समाजवादी मोर्चा बनेको बताएका छन् ।
राष्ट्रियसभा गृहमा आयोजित समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै विप्लवले नेपालको स्वाधिनताको लडाइँलाई अघि बढाउन र समाजवादको यात्रा तय गर्न मोर्चाले भूमिका खेल्ने बताएका हुन् ।
‘हामीले भर्खरै सात बुँदे घोषणापत्र र सहमतिपत्रमा हस्ताक्षर गरेका छौँ । यसले पक्कै पनि नयाँ आशाको सञ्चार गर्नेछ,’ उनले भने, ‘यो देशमा पश्चगामीहरूको, प्रतिगामीहरूको नेतृत्व अब स्वीकार्य छैन । देशको नेतृत्व अग्रगामीहरूले गर्ने हो । स्वाभिमानीहरूले गर्ने हो ।’
उनले प्रतिगामी र पश्चगामी शक्तिलाई मौकाको फाइदा उठाउन दिन नहुने उनको भनाइ छ। ‘यो नेपालको राजनीतिको नयाँ प्रयोग हो । सरकारमा भएको पार्टी पनि यहाँ हुनुहुन्छ भने संघर्ष गरिरहेको पार्टी पनि यहाँ छन् । यो देशको नेतृत्व अग्रगामीहरूले गर्ने हो । यो देशको नेतृत्व देशभक्त स्वाभिमान नागरिकले गर्ने हो । हामी तरंगित पनि छौं । वैज्ञानिक समाजवादको लक्ष्यमा दृढ छौं’ उनले भने ।
उनले नयाँ पुस्तालाई निरास बनाएर नेपालको अस्तित्व बेच्ने कार्य सैह्य हुन नसक्ने बताए । कुनैपनि देशको गुलामी बन्न स्वीकार्य नहुने उनले बताए।








