२३ बैशाख २०८१, आइतबार

घर फर्कनेको ताँती, स्थानीय तहका प्रमुखहरु भन्छन्,‘यहाँ त बेहाल हुँने भो ’

प्रकाशित मिति :  21 April, 2020 2:40 pm


काठमाण्डौं उपत्यकाबाट उद्धार गरेर पठाईएका मजदुरहरु रोल्पाको होलेरीमा । फोटो : दीपक डाँगीको फेसबुकबाट

रोल्पा, ९ वैशाख ।

काठमाण्डौं उपत्यका र अन्य जिल्लामा कामका लागि गएका श्रमिकहरु धमाधम फर्केपछि स्थानीय तहहरु दबावमा परेका छन् ।

आँकलन गरेभन्दा धेरै स्थानीयहरु फर्कन थालेपछि स्थानीय सरकारलाई व्यवस्थापन गर्न गाह्रो भएको छ ।

कतिपय घर फर्किसकेका छन् भने धेरैजसो फर्कने क्रममै छन् । रोल्पाको परिवर्तन गाँउपालिकाबाट झण्डै १२ सय जति मानिस बाहिर रहेको र फर्कनेक्रम जारी रहेको अध्यक्ष निमाकान्त डाँगीले बताए ।

उनले भने,‘प्रदेशले २५ शैयाको क्वारेन्टाइन बनाउन भनेको थियो यहाँ त २५ सय पो चाहिएला जस्तो भयो ।’ अध्यक्ष डाँगीले सबै स्कूलहरुलाई क्वारेन्टाइनमा परिवर्तन गरेको जानकारी दिए ।

मजदुर लिएर रोल्पा गएका गाडी

त्रिवेणी गाँउपालिकाका अध्यक्ष शान्तकुमार ओलीले मान्छे फर्किएको देखेर आफू अचम्ममा परेको बताए । लुम्बिनी सञ्चारसँग कुरा गदै अध्यक्ष ओलीले भने,‘मान्छे ओसार्न हैरान छौं । व्यवस्थापनको हिसाबले गाह्रो हुने भयो तर हामी लागिरहेका छौं ।’

गाँउपालिका भित्र २ सय भन्दा बढी आईसकेको भन्दै थप मान्छे आउनेक्रममा रहेको बताए ।

उनले भने,‘यहाँ त बेहाल हुँने भो !   यो हामीले के गर्यौं यस्तो, अब के को क्वारेन्टाइन्, पुरै हुलका हुल बस्ने स्थिति आयो, यसले के हुने हो ? गाँउपालिकामा ४० बेडजतिको क्वारेन्टाइन बनाएको भन्दै अब त्यसको कुनै अर्थ नभएको बताए ।

उनले भने,‘अब के के बेडमा सुताउने नि युद्धकालमा कमरेडहरु बन्दुक सिरानी हालेर सुते झैं भा छ ।’

रोल्पाको पश्चिम क्षेत्र र रुकुमपूर्व छिर्ने होलेरी नाकाको व्यवस्थापनमा रुन्टीगाढी गाँउपालिका समेत हैरान बनेको छ । आफ्ना मान्छे राख्ने मात्रै होईन अन्य गाँउपालिका र रुकुमपूर्वका समेत पठाउने गरि व्यवस्थापनमा लागिरहको छ ।

रुन्टीगढी गाँउपालिकाका अध्यक्ष बलराम बुढाले भने,‘ हामी त झन् नाकामै परेर हैरान छ, आएकालाई जिम्मा लिने, गाँउपालिकाहरुलाई समन्वय गर्ने र आफ्नालाई क्वारेन्टाइनमा राख्ने भइरहेको छ ।’

पछिल्लो २ दिनमा मात्रै ६ सय मानिसहरु भित्रिसकेको उनले जानकारी दिए । आज मात्रै मान्छे लिएर १२ वटा वस,एउटा ट्रक होलेरी पुगेका छन् । आउने जारी छ ।

रोल्पाको पूर्वीक्षेत्रमा भने अहिलेसम्म चाप कम छ । लुङ्ग्री गाँउपालिकाका अध्यक्ष दुर्गबहादुर खड्काले भने,‘अहिलेसम्म जेजसो भएर व्यवस्थापन गरिएको छ । केन्द्र,प्रदेशले पनि बजेट पठाउला, अहिलेसम्म धानिएकै छ।’

सुनछहरी गाँउपालिकाका प्रवक्ता अमरजीत पुनले मानिसहरु फर्कदै गरेको र धेरै चाप भए समस्या हुन सक्ने बताए ।

तर,अहिलेसम्म गाँउपालिकामा असहज नभएको उनको भनाई छ । सुनिल स्मृति गाँउपालिका वडा नम्बर—४ का अध्यक्ष गञ्जबहादुर क्षेत्रीले पूर्वी क्षेत्रमा झण्डै दुईसय भित्रिएको र २ वटा गाडी आउँदै गरेको जानकारी दिए ।

मुख्य नाका सुलिचौरबजारबाट मानिसहरुलाई आ-आफ्नो गाँउपालिकामा पठाईएको क्षेत्रीको भनाई छ ।

केही गाँउपालिकाले भने होम क्वारेन्टाईनमा राख्ने तयारी गरेका छन् । रुकुम पूर्वको भूमे गाँउपालिकाले मानिसको चाँप बढ्न थालेपछि होम क्वारेन्टाइनमा राख्ने र नजिकको स्वास्थ्य संस्थाबाट निगरानी गराउने बताएको छ ।

गाँउपालिका अध्यक्ष रामसुर बुढाले अहिलेसम्म ८९ जना गाँउपालिका भित्रिएको र दाङ, रोल्पा लगायतका जिल्लामा अलपत्र परेकालाई ल्याउने काम भईरहेको बताए ।

उनले भने,‘ क्वारेन्टाईन विदेशबाट आउनेका लागि बनाईएको हो विभिन्न जिल्लाबाट आउनेलाई त हामी होम क्वारेन्टाइनमै राख्ने र स्वास्थ्य चौकीले हेर्ने व्यवस्था मिलाउँदै छौं ।’

कार्यक्षेत्रमा खाद्यान्न तथा वस्न समस्या हुन थालेको भन्दै श्रमिकहरु चार पाँचदिनसम्म हिँडेर घर जान थालेपछि गाडीमा मानिस पठाउन सुरु गरेको छ ।

तर, स्थानीय तहमा तयारी भन्दा कैयौं मानिसहरु जान थालेपछि भने व्यवस्थापनमा अफ्ठेरो परेको छ ।

पठाउन पनि सहज छैन

खेतीपातीकाे समयमा इटाँभटा लगाएतका क्षेत्रमा काम गर्ने मजुदरहरू घर फर्कने याेजनामै हुन्छन् । लकडाउनका कारण कतिपय मजदुर अाफूखुशी पनि हिड्न थाले भने कतिपयलाइ इटाभट्टाले खाने वस्ने व्यवस्था नगरेकाे  तथा स्थानीय तहले पनि सहयाेग नगरेका कारण पनि विना तयारी घर फर्कन थालेका छन् ।

पाँच नम्बर प्रदेशका जनप्रतिनिधि वर्षमन पुन र जयपुरी घर्ती अलपत्र परेका मजदुरलाइ पठाउन लागि परेका देखिए । सरकारले स्पष्ट निर्णय नगर्दा समन्वयमै पनि सास्ती भाेग्नु परेकाे सचिवालयका सदस्यहरूकाे भाेगाइ छ।  उपराष्ट्रपति नन्द किशाेर पुनका छाेरा दिपेश पुन, कृष्ण बहादुर महराका छाेरा राहुल महरा, अर्थमन्त्री पुनका सचिवालयका सन्ताेष पुन, संसदकाे शिक्षा समिति सभापति सभापति घर्तीकी सचिवालयका भृकुटी मगर, मदन घर्ती, जीवन राेका लगाएत दर्जन बढी प्रत्यक्ष, प्रत्यक्ष खटेका देखिन्थे ।

घर्तीकी सचिवालनकी मगरले मंगलबार फेसबुकमा लेखेकी छिन्, ‘रातदिन खतेर रोल्पा,रुकुम ,सल्यान, नेपालगन्ज र प्युठान जिल्लाहरुको हजारौं मजदुरहरु लाई उदार गरि जिल्ला पठाउने काम गरियो । नेतृत्व गर्नु हुने मन्त्री बर्ष मान पुन ज्यु र सभापति जयपुरी घर्ती ज्यु लाई बिशेष धन्यवाद ।’ रात दिन नभनेर काम गर्दा थकाइ लागे पनि अलपत्र परेका जनतालाइ घर पठाउन पाउँदा खुशी लागेकाे सहजीकरणमा संलग्नले फेसबुक मार्फत् बताइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !