२३ बैशाख २०८१, आइतबार

नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठक बस्दै, दश वटा एजेण्डा तय

प्रकाशित मिति :  18 July, 2023 8:51 am


काठमाडाैँ। काँग्रेस केन्द्रिय कार्यसमिति बैठक आज(मंगलवार) दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्ने भएकाे छ ।

सोमवार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रिय कार्य समिति बैठकका लागि दश वटा एजेण्डा तय गरेको छ। 

महामन्त्री विश्वप्रकाश शर्माले पहिलो एजेण्डाको रुपमा समसामयिक विषय रहने र त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरुमा छलफल हुने बताए। सांगठनिक कार्ययोजना र कार्यतालिका प्रश्तुत हुने उनले बताए ।

कार्यसम्पादन समितिले गरेका निर्णयहरु अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेश र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रश्तावित हुने शर्माले बताए । केन्द्रिय कार्य समिति बैठकमा विभाग गठनको प्रश्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रश्तुत, अनुशासन समितिको प्रतिवेदन पेश गर्ने एजेण्डा पनि रहेको छ । 

अरु एजेण्डाहरुमा पार्टीले प्रतिनिधि सभामा खेलेको भुमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरुको सम्बन्धमा बैठकलाई जानकारी गराउने रहेको छ । 

वैठक बारे जानकारी गराउँदै शर्माले भने, “यो बैठक टुंगिदै गर्दा एउटा राष्ट्रवादी अभियान, अभियानको नाम, अभियानको उद्देश्य, अभियानको खाका प्रश्तावित गर्छौं, अनुशासन समितिले अनुशासन सम्बन्धि प्रतिवेदन पेश गर्दछ । पार्टीका अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले प्रश्तुत गर्नुहुन्छ ।” उनले बैठकको प्रत्यक्ष प्रशारण गर्ने सम्बन्धमा पनि छलफल भइरहेको बताए।



प्रतिक्रिया दिनुहोस !