२० बैशाख २०८१, बिहिबार

काँग्रेसलाई ओलीको प्रश्न–कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर ?

प्रकाशित मिति :  13 August, 2023 8:06 am


काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल काँग्रेस टिप्पणी गर्न लायकको पार्टी नरहेको दाबी गरेका छन्। 

संसदको सबैभन्दा ठूलो दल काँग्रेसलाई सानो दलको पछि लाग्ने रहर नसकिएसम्म आफूले केही पनि प्रतिक्रिया नदिने ओलीको भनाई थियो । उनले पुच्छरले कुकुर हल्लाएजस्तो भुमिकामा संसदको सबैभन्दा ठूलो दल काँग्रेस रहेकोमा आफू छक्क परेको बताए । 

गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्र, नेपालले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले काँग्रेसलाई कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर हल्लाउने हो ? भनि प्रश्न समेत गरे। अध्यक्ष ओलीले चार वटा मन्त्री लिएर साना दलको पछि हिँडुन्जेल काँग्रेसमाथि आफूहरुले टिप्पणी समेत नगर्ने बताए।

उनले भने, पछाडि पुच्छर चुप लागेर बसेको छ । अगाडि नेपाली काँग्रेस डोलायमान छ । त डोले, मेरो मन डोले भनेर गीत गाएर बसेको छ । त्यो उहाँहरुको मामिला हो । मेरो यसमा कुनै कमेन्ट छैन । तपाईहरुलाई यसैगरी चार वटा मन्त्री लिएर साना पार्टीको पछि हिँडने रहर लागिन्जेलसम्म त्यो पूरा भइरहोस् । मेरो शुभकामना छ । तपाईहरुलाई मन लागुन्जेल । लागेन भने बेग्लै कुरा हो ।”

अध्यक्ष ओलीले प्रतिशोधको राजनीति नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि चेतावनी दिए।  प्रधानमन्त्री दाहालको पाकिस्तानी शैलीको प्रतिशोधको राजनीति धेरै नटिक्ने उल्लेख गर्दै उनले त्यस्ता कार्यमा सरकारले हौसिन नहुने पनि बताए। 

अध्यक्ष ओलीले सांसद सुनिल शर्मालाई हत्कडी लगाएर सरकारले सर्वसाधारणलाई समेत आफू बिरुद्ध नबोल्न तर्साएको आरोप समेत लगाए। “म भन्न चाहन्छ, सरकारलाई सम्झाउन चाहन्छु–तपाईँहरुको बुद्धि ठेगानमा रहोस् । नेपाली जनता यस्ता कुराबाट तर्सिनेवाला चाहीँ छैन ।”

ओलीले पीडितलाई न्याय दिने गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पु-याउने काममा सरकार गम्भिर नभएको जिकिर समेत गरे।

https://www.tiktok.com/@taksarmultimedia/video/7266622292950535426?lang=en



प्रतिक्रिया दिनुहोस !