२१ बैशाख २०८१, शुक्रबार

ठेक्का लगाएर समयमा नै निर्माण सम्पन्न नगर्नु पनि भ्रष्टाचार होः मन्त्री गुरुङ

प्रकाशित मिति :  28 August, 2023 7:27 am


काठमाडाैँ । शहरी विकासमन्त्री सीता गुरुङले पूर्वाधार निर्माणका सरकारी आयोजनाहरु ठेक्का लगाएर समयमा नै निर्माण सम्पन्न नगर्नु पनि भ्रष्टाचार भएको बताएकी छिन्। 

आईतवार ललितपुरको भैंसेपाटीमा निर्माण गरिएको प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको निवास उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरुङले समयमा निर्माण काम नहुँदा आर्थिक बोझ र समय दुवै खेर जाने भन्दै समय खेर जानु सुशासनको निम्ति भ्रष्टाचार भएको बताइन्।

मन्त्री गुरूङले मुलुकमा शुन्य सहनशिलता र सुशासन राख्नको लागि समय खेर फाल्न नहुने उल्लेख गरिन्। सरकारले बनाउने हरेक योजनाहरु ठेक्का लाग्ने नीति बनाएर पनि कार्यान्वयन गर्न नसकिएको चर्चा गरिन्।

मुलुकमा सामाजिक आर्थिक पूर्वाधार विकास नगरेसम्म सरकारका दीर्घकालिन योजनाको परिकल्पना पूरा हुन नसक्ने उल्लेख गरिन्। उनले शहरी विकास मन्त्रालयले सहरी विकास सडक निर्माण र आवास व्यवस्थापनमा उल्लेखनीय काम गर्दै आएको बताइन्।

उनले भनिन्, “सरकारले बनाउने हरेक योजनाहरु ठेक्का लाग्ने नीति बनाएर पनि अहिले पनि कार्यान्व्यन गर्न सकेका छैनौं । सरकारले आयोजनाको ठेक्का लगाए पनि अहिले निर्माण सम्पन्न गर्ने भनेर तोकेको समयलाई ध्यान दिन सकेका छैनौं ।”

समयमा निर्माण काम नहुँदा आर्थिक बोझ र समय दुवै खेर जाने उनकाे भनाइ छ । “समय खेर जानु भनेको सुशासनको निम्ति भ्रष्टाचार हो, शुन्य सहनशिलता र सुशासन राख्ने हो भने समय पनि महत्वपूर्ण छ।” मन्त्री गुरूङले भनिन्।

मन्त्री गुरुङले व्यवस्थित र योजनावद्ध शहरीकरणको लागि एकीकृत बस्ती विकास,जनता आवास र सुरक्षित नागरिक आवास कार्यक्रम अगाडि बढाइरहेको बताइन् । उनले नयाँ शहर र स्मार्ट सिटीका लागि मध्यपहाडी लोकमार्ग अन्तर्गत सडक खण्डमा पर्ने १२ वटा र भारतसँग सीमा जोडिएका १७ वटा सहरहरुलाई व्यवस्थित गरेर बसाइसराईलाई नियन्त्रण गरी व्यवस्थित सहर बनाउने योजना सरकारको रहेको बताइन्।



प्रतिक्रिया दिनुहोस !