२० बैशाख २०८१, बिहिबार

इतिहासले नै सम्झिनेगरी शाहसिक र जनपक्षिय कामहरु अघि बढाएको छुः प्रधानमन्त्री

प्रकाशित मिति :  2 September, 2023 10:43 am


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले इतिहासले नै सम्झिनेगरी शाहसिक र जनपक्षिय कामहरु अघि बढाइरहेको दाबी गरेका छन्। 

शनिवार पार्टी केन्द्रिय कार्यालयमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को शुभारम्भ गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका उनले आफू नेतृत्वमा रहेको सरकारले सामाजिक न्यायको प्रत्याभुति, सुशासन, सार्वजनिक सेवा, प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै काम गरिरहेको उल्लेख गरे।

उनले एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामहरुले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै गएको निराशा चिरेर आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको दाबी गरे। 

प्रधानमन्त्री दाहालले राजनीतिक र सामाजिक अराजकताको स्थानमा सकारात्मक भाष्यको निर्माण हुँदै सरकार र प्रणालीप्रतिको विश्वास क्रमशः बढ्दै गएको बताए। उनले आफैँले गरेका राम्रा काम पनि जनतासम्म पु-याउन नसकेका गुनासो गर्दै यो अभियानले सरकारका तर्फबाट भइरहेका जनपक्षीय कामहरुलाई समेत जनतामा सम्प्रेषण गर्दै सरकार र जनताबीच सम्बन्ध बिस्तार गर्ने विश्वास व्यक्त गरे।

प्रचण्डले भने, “राजनीतिक र सामाजिक अराजकताको स्थानमा सकारात्मक भाष्यको निर्माण हुँदै सरकार र प्रणालीप्रतिको विश्वास क्रमशः बढ्दै गएको छ । तर हामीले आफैँले गरेका राम्रा काम पनि जनतासम्म पु-याउन सकेका छैनौँ । यो अभियानले सरकारका तर्फबाट भइरहेका जनपक्षीय कामहरुलाई समेत जनतामा सम्प्रेषण गर्दै सरकार र जनताबीच सम्बन्ध बिस्तार गर्नेछ।”

प्रधानमन्त्री दाहालले जनताले देखेका सपना, अपेक्षा पूरा गर्ने दिशामा राजनीति गतिशिल हुने बताउनु भयो । उहाँले नेपालको राजनीतिक आन्दोलन नयाँ चरणमा प्रवेश गरेको बताए।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालले भर्चुअल माध्यमबाट देशभर अभियानको उद्घाटन गरेका हुन्। आज दिउँसो १ बजे सबै वडाहरुले कार्यक्रम राखि अभियानको प्रारम्भ गर्दैछन् ।



प्रतिक्रिया दिनुहोस !