१७ बैशाख २०८१, सोमबार

प्रदेश-५ मा सबैभन्दा धेरै मान्छे क्वारेन्टाइनमा, परीक्षण भने सुस्त

प्रकाशित मिति :  25 April, 2020 5:32 pm


काठमाण्डौं, १३ वैशाख ।

प्रदेश-५ मा सबैभन्दा धेरै मान्छे क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार देशभर क्वारेन्टाईनमा रहेका मध्य ५० प्रतिशत भन्दा बढी मान्छे प्रदेश-५ का रहेका छन् ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले आज तथ्याङ्कबारे जानकारी दिदै देशभर १४ हजार ७ सय ३१ जना क्वारेन्टाइनमा बसेकोमा प्रदेश-५ का मात्रै ७ हजार ६ सय ५६ जना क्वारेन्टाइनमा रहेको बताए ।

प्रवक्ता देवकोटाले भने,‘क्वारेन्टाइनमा रहेका मध्य सबैभन्दा धेरै प्रदेश- ५ मा ७ हजार ६ सय ५६ जना र सबै भन्दा थोरै बागमती प्रदेशमा १ सय ३१ जना रहेका छन् ।

सबैभन्दा धेरै क्वारेन्टाइनमा रहेपनि प्रदेश ५ मै सबैभन्दा थोरैको कोरोना परीक्षण भएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार अहिलेसम्म प्रदेश-५ मा २ हजार ९ सय ५० आरडीटी विधिबाट परीक्षण भएको छ ।

हिजो प्रदेश नम्बर ५ मा २ हजार ८ सय ७४ जनाको नमुना परीक्षण भएकोमा आज यो संख्या २ हजार ९ सय ५० मात्रै पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसले प्रदेश ५ मा परीक्षण समेत ढिलो भएको देखिएको छ ।

प्रदेश १ मा ४ हजार १ सय ६०, प्रदेश २ मा ५ हजार ४४,बागमती प्रदेशमा ७ हजार ४ सय ६७ जनाको परीक्षण भइसकेको छ । त्यस्तै गण्डकी प्रदेशमा ४ हजार ८ सय ७१, कर्णाली प्रदेशमा ४ हजार ९ सय ७४ र सुदुरपश्चिममा १० हजार २ सय ४ जनाको आरडीटी विधिबाट परीक्षण भईसकेको छ ।

देशभर अहिलेसम्म पीसीआर विधिबाट ९ हजार ६ सय ६६ र आरडीटीबाट ३९ हजार ६ सय ७० गरि कुल ४९ हजार ३ सयि ३६ जनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ९ सय ४५ आरडीटी परीक्षण भएको छ ।

अहिलेसम्म प्रदेश-५ मा कसैमा कोरोना संक्रमित देखिएको छैन तर स्वास्थ्य सामाग्री वितरणमा भने पनि ढिलाई भएको थियो । प्रदेश-५ को रुकुमपूर्वमा देशभरमा सबैभन्दा ढिलो मात्रै कोरोना परीक्षण सुरु भएको थियो ।

बाहिरी जिल्लामा काम गर्न गएकाहरु फर्कन थालेपछि प्रदेश-५का जिल्लाहरुमा क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दै गएको छ ।

यसैबीच, संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले क्वारेन्टाइनमा बस्ने प्रदेश ५ मा धेरै भएको तर परीक्षण कम भएको प्रति चासो देखाएकी छन् ।

उनले कोरोना भाइरस परीक्षण तिब्र बनाउन तथा आर्थिक सहयोग पठाउनुपर्नेमा समेत जोड दिएकी छन् । उनले समाजिक सञ्जाल फेसबुकमा भनेकी छन्,‘देशभर क्वारेन्टाइनमा बसेकामध्ये आधाजति ५ नबर प्रदेशमा छन्, स्वास्थ्य परिक्षण भने कम देखियो। नेपाल भित्र र भारतबाटसमेत जनता गाउँ फर्केकाले स्थानीय तहलाई भार बढेको छ, प्रदेश तथा संघीय सरकारले कोरोना भाइरस परीक्षण तिब्र बनाउन तथा आर्थिक सहयोग पठाउन जरुरी छ।’

 

 



प्रतिक्रिया दिनुहोस !