१५ बैशाख २०८१, शनिबार

‘संस्थाको रकम हिनामिना गरेको’आरोपमा फ्लोरीकल्चर एसोसिएसनका निवर्तमान अध्यक्ष कसजु कारबाहीमा

प्रकाशित मिति :  26 September, 2023 3:16 pm


काठमाडौँ । फ्लोरी कल्चर एसोसिएसन(फ्यान)का निवर्तमान अध्यक्ष कुमार कसजु श्रेष्ठ कारबाहीमा परेका छन् ।

आफ्नो कार्यकालमा संस्थाको जग्गा खरिद गर्दा रकम हिनामिना गरेको आरोपमा निवर्तमान कसजुलाई एसोसिएसनले कारबाही गरेकाे हो ।

एसोसिएसनको ३१ औं वार्षिक साधारण सभामा पेश भएको वर्षिक प्रतिवेदनमा कसजुलाई विधानको दफा १५ को उपदफा १२ बमोजिम आवश्यक कारबाही गरिएको उल्लेख छ ।

प्रतिवेदनमा उल्लेख भए अनुसार फ्यानको सचिवालय भवन निर्माणका लागि जग्गा खरिद गर्दा अनियमिता भएको गुनासोपछि ७ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिले २०७९ वैशाख १४ गते लिखित प्रतिवेदन पेश गरेको थियो ।

२०८० भदौ २९ गते भएको ३१ औँ साधारण सभाबाट पारित वार्षिक प्रतिवेदनमा भनिएको छ,“छानबिन समितिले पेश गरेको लिखित प्रतिवेदन उपचर कार्य समितिले कानुनी राय आवश्यक रहेको महसुस गरी फ्यान कानुनी सल्लाहकारको राय माग गरिएको थियो । कानुनी सल्लाहकारले छानबिन समितिको प्रतिवेदन तथा सोसँग सम्बन्धित सवुद प्रमाणहरू अध्ययन गरी मिति २०७९ जेठ ३१ मा लिखित राय दिएको थियो ।”

कानुनी सल्लाहकारको सुझाव पछि फ्यानको कार्यसमितिले अनुशासन समितिमा प्रतिवेदन पठाइएको थियो । वार्षिक प्रतिवेदनमा भनिएको छ,“जग्गा खरिद प्रकरण छानबिन समितिले दिएको प्रतिवेदन,, कानुनी सल्लाहकारले दिएको राय तथा फ्यान अनुशासन समितिले दिएको राय सुझाव सहितको प्रतिवेदनलाई आधार मानी फ्यानको विधान दफा १५ को उपदफा १२ बमोजिम कुमार कसजु श्रेष्ठलाई आवश्यक कारबाही गरिएको थियो ।”

फ्यानको विधानको दफा १५ को उपदफा १२ मा ‘कुनै सदस्यको सदस्यता, जिल्ला तदर्थ समिति तथा जिल्ला कार्यसमिति वा उपसमिति, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विधान अनुरुप निलम्बलन, निस्काशन वा खारेज गर्ने’ भनिएको छ । प्रतिवेदनमा कुन तहको कारबाही हो भन्नेबारे प्रष्ट उल्लेख छैन ।

फ्यान स्रोतका अनुसार निवर्तमान अध्यक्ष कार्यसमितिमा स्वत पदेन सदस्य रहने व्यवस्था छ र कसजुलाई सोही पदेन सदस्यबाट हटाइएको छ ।

छानबिन समितिले सचिवालयको भवन निर्माणका लागि जग्गा खरिद गर्दा तत्कालीन अध्यक्ष कसजुले ७ लाख रुपैयाँ हिनामिना गरेको भन्दै असुलउपर गर्न भनेको थियो ।



प्रतिक्रिया दिनुहोस !