५ जेष्ठ २०८१, शनिबार

बझाङ भूकम्प : भूकम्पपछि गएको पहिरोमा बेपत्ता गुनमति धामीको मृत्यु

प्रकाशित मिति :  4 October, 2023 8:44 am


काठमाडौँ । बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । भूकम्पपछि गएको पहिरोमा बेपत्ता जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामीकाे मृत्यु भएकाे हाे ।

मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका बझाङले जनाएको छ । प्रहरी टोली अहिले घटनास्थलमा पुगेको छ ।

धामी मंगलबार दिउँसो जंगलमा टिमुर टिप्न गएकी थिइन्। घर नफर्किएपछि उनको खोजी भइरहेको थियो । उनी गएको ठाँउमा पहिरो गएको धामी पहिरोमा परेर बेपत्ता भएको हुनसक्ने अनुमान प्रहरीले गरेको थियो ।

मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यस्तै दिउँसो ३ बजेर ६ मिनेटमा बझाङकै चैनपुर केन्द्रविन्दु आसपास बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। भुइँचालोका कारण हालसम्म १३ जना घाइते भएको तथ्यांक छ। भूकम्पबाट बझाङमा एक सय ३५ संरचनामा क्षति पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !