२० बैशाख २०८१, बिहिबार

नेपाल बिआरआई बाट पूरा लाभान्वित हुन चाहन्छः प्रधानमन्त्री दाहाल

प्रकाशित मिति :  8 October, 2023 11:40 am


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाल नेपाल चीनको यो द्रूततर विकास, गरीवी निवारण तथा चीनले अगाडि सारेको दीगो विकास तथा साझा समृद्धिको अवधारणा (बिआरआई) बाट पूरा लाभान्वित हुन चाहेकाे बताएका छन्। 

आइतवार बिआरआईको एक दशक : व्यापार, लगानी र सम्पर्क सञ्जाल” विषयक सेमिनारमा बाेल्दै उनले विश्वकै लागि अनुकरणीय छिमेकी र असल मित्र राष्ट्र चीनको यो अभूतपूर्व विकास नेपालका लागि ठूलो शिक्षा र अवसर दुबै रहकाे बताएका हुन्।

उनले भने, “हामीलाई पूर्वाधार विकासमा ठूलो लगानीको खाँचो छ । परम्परागत स्रोतबाट प्राप्त हुने विकास सहायताबाट मात्रै हाम्रो आवश्यकता पूरा हुनसक्ने परिस्थिति छैन । विकास निर्माणलाई तीब्र बनाउन थप बाह्य पुँजीको खाँचो छ।” बिआरआई नेपालका लागि त्यस्तो महत्वपूर्ण स्रोत हुन सक्ने धारणा दाहालकाे छ।

विगत १० वर्षमा बिआरआईमार्फत मात्र १००० अर्व अमेरिकी डलरभन्दा बढी लगानी भएको तथ्याङ्क सावजनिक भइरहँदा नेपालले तुलनात्मक रूपमा उल्लेख्य लगानी भित्राउन नसकेकाे प्रधानमन्त्री दाहालकाे भनाइ । 

छिटै कार्ययोजना बनाएर समयवद्ध कार्यतालिका अनुरूप दुबैतर्फका र साझा संयन्त्रहरूलाई परिचालन गरेर छिटो काम गर्ने उनकाे भनाइ छ । उनले भने, “मैले चिनियाँ नेता, प्राज्ञिक समुदाय र व्यावसायिक समुदायलाई पनि स्पष्ट भनेको छु– नेपालको तर्फबाट लिनुपर्ने पहलकदमी तथा नीतिगत र प्रक्रियागत अवरोध हटाउने काम नेपाल सरकारले गर्नेछ, चिनिया पक्षले पनि नेपालसँगको आर्थिक, सामाजिक, साँस्कृतिक तथा जनस्तरको सम्बन्धलाई प्रवर्धन गर्न आफ्नो ठाउँबाट भूमिका खेलिदिनुहोस्।” 

अब बिआरआई परियोजना मनोकामनाको सूची (wish-list) नभई कार्यान्वयनयोग्य परियोजना छनोट र कार्यान्वयन हुनेगरि बिआरआई सम्बन्धी विकास निर्माणका परियोजना अगाडि बढाउने प्रतिद्धता दाहालकाे छ।

“नेपाल बिआरआई परियोजना कार्यान्वयनमार्फत विकास र समृद्धिलाई तीव्रता दिन चाहन्छ,” उनकाे भनाइ छ, “नेपाल अब भूपरिवेष्ठित देशबाट भूजडित देश हुनेछ भन्ने महामहिम राष्ट्रपति सी चीनफिङको भनाइप्रति मेरो पूर्ण सहमति छ, जुन कुरा मैले केही दशकदेखि दृढतापूर्वक भन्दै पनि आएको छु । अब हामीले उक्त युक्तिलाई वास्तविकतामा बदल्न सामूहिक पहलकदमी लिनुपर्नेछ ।”

नेपाल र चीनबीच हिमाल छिचोल्ने बहुआयमिक सम्पर्क सञ्जालको बिस्तारबाट साझा चासोको सम्बोधन गर्ने उनकाे भनाइ छ । 

दुबैतर्फका सम्भावना, प्राथमिकताहरू, भूमिका र अपेक्षित उपलब्धीका बारेमा पनि यस कार्यक्रमको निष्कर्ष दुबै सरकार र नीजि क्षेत्रका लागिसमेत एक महत्वपूर्ण सन्दर्भसामग्री हुने विश्वास उनकाे छ।

आफ्नाे चीन भ्रमणका क्रममा १३ वटा विभिन्न समझदारी र सम्झौता एवं संयुक्त वक्तव्यमा उल्लेख भएका समझदारीले नेपाल र चीनबीचको आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनकाे विशवास छ।

भ्रमणबाट नेपालको निजी क्षेत्रसँग चिनियाँ पक्षको सहकार्य थप घनिभूत हुनेछ भने थप लगानी भित्राउन मद्दत गर्ने, तुलनात्मक लाभका क्षेत्रमा लगानी तथा प्रविधि विस्तार गरी दुबै मुलुकका जनताले बढीभन्दा बढी प्रतिफल प्राप्त गर्नेगरि चिनियाँ लगानीकर्तासँग सहकार्य गर्न नेपालको निजी क्षेत्रलाई सघाउन सरकार प्रतिबद्ध रहेकाे बताए।



प्रतिक्रिया दिनुहोस !