१६ बैशाख २०८१, आइतबार

पारा खेलाडीलाई ऐनसेलको साथ, एसियन गेम्सका लागि नेपाली खेलाडीको विदाई

प्रकाशित मिति :  17 October, 2023 8:09 am


काठमाडौँ । टेलिकम्युनिकेसन कम्पनी एनसेलले नेपालका पारा खेलाडीलाई साथ दिएको छ । पारा खेलाडीहरुको सिप विकास र प्रशिक्षणका लागि राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालसँग सहकार्य गरेको हो।

एनसेलले सोमवार पारा एसिएन गेम्स २०२२ मा विभिन्न १० वटा खेलहरुमा नेपालको प्रतिनिधित्व गर्ने राष्ट्रिय पारा टिमका खेलाडी तथा प्रशिक्षकलाई एक बिदाई कार्यक्रम आयोजना गरेको छ।

आफ्नो ब्राण्ड थिम ‘हामी तपाईंकै लागि‘ अन्तर्गत राष्ट्रिय पारा टिमसँग आवद्ध हुन एनसेल अत्यन्तै गौरवान्वित रहेको एनसेलेको भनाइ छ। एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले खेलमा सफलताको शुभकामना व्यक्त गरे ।

यही कार्तिक ०५ गते देखि ११ गतेसम्म चीनको हृङजाओ शहरमा हुन गईरहेको चौथौं पारा एसियन गेम्समा देशको प्रतिनिधित्व गर्दै खेलाडीको विदाई गरिएको हो। चौथौं पारा एसियन गेम्सका लागि नेपालको प्रतिनिधित्व गदै नेपालका राष्ट्रिय पारा खेलाडी सोमवार राती हृङजाओ प्रस्थान गरिसकेका छन् ।

यस एसिएन गेम्सको लागि चिफ–डि–मिसनको रुपमा एनपीसिका कोषध्यक्ष ओमनाथ शिवाकोटी रहेका छन् । यस वर्ष पारा एसियन गेम्समा विभिन्न १० खेलका विधामा१९ जना पारा खेलाडीहरु आफ्नो देशको लागि खेल्नेछन् । एथलेटिक्स, ब्याडमिनटन, साइकलिङ, पौडी, टेक्वान्दो, जुडो, पावर लिफ्टिङ, सुटिङ र टेबलटेनिस खेलमा नेपाल सहभागी हुनेछ ।

विदाई कार्यक्रममा कायुमोभले भने, ‘‘आज हामी सबैको लागि यो एक गर्वको क्षण हो । भिन्न क्षमता भएका वर्गहरुलाई सम्मान गर्दै उहाँहरुको सपनालाई साथ दिएर अधि बढाउन सहयोग गर्न एनसेल सदैव तत्पर छ । एनसेल र एनपीसीको यो सहकार्यले धेरैभन्दा धेरै पारा खेलाडीहरुको विकासमा सहयोग पुर्याउने विश्वास लिएका छौ ।’’

राष्ट्रिय पारालम्पिक कमिटीका कोषाध्यक्ष ओमनाथ शिवाकोटीले देशका विभिन्न कुनामा रहेका पारा खेलाडीहरुको समग्र विकास र तालिमको लागि एनसेलसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।

उनलेल भने, “पारा खेलाडीहरुको लागि भएको यो पहिलो सहयोग हो र हामी यस किसिमको पहलको लागि एनसेललाई धेरैै धन्यवाद दिन चाहान्छौ । हाम्रो यो सहकार्य हाम्रा पारा खेलाडीहरुको हौषला र प्रत्येक खेलाडीहरुमा रहेको आत्म विश्वासको उपज हो र यस सहकार्यलाई थप प्रभावकारी बनाउँदै हाम्रा खेलाडीहरुको मनोबल सदैव उच्च हुने गरी काम गर्न हामी तत्पर छौ।’’

पारा एथलिट (१०० मिटर र ४०० मिटर एथलेटिक्स) साङ्बु भोटेले खेलाडीहरुको सहयोगको लागि एनसेल एनपीसीको सहकार्यले हामीलाई उत्साहित बनाएको छ र पारा एसियन गेम्सको लागि पूर्ण तयारीमा पुगेको प्रतिक्रिया दिए।
पारा पौडी खेलाडी जेनिशा कडायतले भनिन्, “जहाँ इच्छा त्यहाँ उपाय भन्ने भनाइ प्रति म साँच्चै विश्वास गर्दछु र यसै विश्वासकासाथ यस यात्रामा अघि बढेको छु ।”

पारा सुटिङ खेलाडी हिमाल अर्यालले पारा एसियन गेम्सको लागि देशको प्रतिनिधित्व गर्न पाएकोमा हामी आफूहरु निकै खुसी रहेको बताए।

पावर लिफ्टिङका दिगम सिङ चेम्जोङले भने, ‘ हामी सबै पारा खेलाडीहरुको आ–आफ्नै अनुभवहरु छन् र यस अनुभवले हाम्रो सपना प्रतिको दृढ संकल्प उजागर गर्दछ । यसै भरोसा र विश्वासलाई हातेमालो गर्दै पारा एसिएन गेम्समा इतिहास रच्ने आशाका साथ नेपालको प्रतिनिधित्व गर्दै छु।’’



प्रतिक्रिया दिनुहोस !