२३ बैशाख २०८१, आइतबार

प्लाष्टिकजन्य फूल-गुच्छा आयातमा कडाइ, विक्री गरेको पाइए कारवाही हुने

प्रकाशित मिति :  20 October, 2023 8:56 am


काठमाडौँ । सरकारले प्लाष्टिकजन्य फूल गुच्छा विक्री वितरणमा कडाइ गर्ने भएको छ। आयात वा विक्री वितरण गरिएको पाइएमा वातावरण संरक्षण ऐन २०७६ अनुसार कारवाही गरिने भएको हो।

वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरि मिति २०७९/०४/१२ मा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी नेपालभर प्लाष्टिक जन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री बितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाएको थियो।

सरकारको नियम पालना गर्न फ्लोरिकचर एसोसिएसन (फ्यान) ले सघाउने भएको छ । बिहीवार गृह मन्त्रालयमा पुष्प व्यवसायी र सरोकारवालाबिच संयुक्त वैठक बसेर प्लाष्टिकजन्य फूल तथा गुच्छा लगायतको विक्रीवितरण रोक्न सबै पक्षले कडाइकासाथ काम गर्ने निर्णय भएको हो।

गृह मन्त्रालयका सहसचिवको संयोगकत्वमा गृह मन्त्रालय, कृषि तथा पशुपंछी विकास मन्त्रालय, उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा एशोसिएसनका प्रतिनीधिहरु छलफल भएको हो। 

छलफलले प्लाष्टिकजन्य फूल गुच्छा बिक्रि बितरणमा सम्बन्धित सरकारी निकायबाट कडाईका साथ अनुगमन हुने र प्लाष्टिकजन्य फूल गुच्छाहरु बिक्री बितरण, भण्डारण र आयात गरेको पाईएमा नियमानुसार कारबाही गर्ने निर्णय गरेको छ। 

अवैध रुपमा आयात हुने फूल, माला, तथा माटो सहितको बोट बिरुवाहरु सबै भन्सार नाकाहरुमा नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान बिभाग लगायतका सम्बन्धित निकायहरुबाट रोक लगाउने निर्णय भएको छ। 

उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रालयबाट एकिकृत बजार अनुगमन गर्ने र कानुन बिपरित बिक्री बितरण गरेको पाईएमा नियमानुसार कारबाही गरिने भएको छ।

सबै भन्सार नाकाहरुमा रहेको प्लान्ट क्वारेन्टाईन तथा विषादी व्यवस्थापन कार्यालयहरुलाई थप प्रभावकारी बनाइने भएको छ। चाडबाडको मौका छोपी बजारमा कृतिम अभाव सृजना गरी कालो बजारी गरेको पाईएमा कानुन अनुसार कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ। 

बिहीवार नै फ्यानले प्रेस विज्ञप्ति जारी गर्दै वैठकको निर्णय बारे जानकारी गराएको छ। “सदस्य पुष्प व्यवसायीज्यूहरुले आजकै मिति देखि कृतिम प्लाष्टिक जन्य फुल गुच्छा तथा बिरुवाहरुको बिक्री वितरण नगर्न नगराउन अनुरोध गर्दछौ।” विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारको सम्बन्धित निकायबाट अनुगमन गर्ने क्रममा भण्डारण तथा बिक्री बितरण गरेको पाईएमा कानुन अनुसार कारबाही हुने समेत यसै प्रेस बिज्ञप्ती मार्फत जानकारी गराउदछौ। फ्यान सदस्य पुष्प व्यवसायीज्यूहरुले व्यवसायीक कारोबार गर्दा वैधानिक तवरले प्राकृतिक फूल बिरुवाहरुलाई प्राथमिकता दिई व्यवसाय गर्न समेत हार्दिक अनुरोध गर्दछौं।”



प्रतिक्रिया दिनुहोस !