१५ बैशाख २०८१, शनिबार

दशैँमा काठमाडौँको तरकारी आपूर्ति ६ गुणाले घट्यो

प्रकाशित मिति :  26 October, 2023 8:52 am


काठमाडौँ । दशैँ बिदामा उपत्यका छाड्ने क्रम बढेसँगै तरकारीजन्य उपजको आयात ह्वात्तै घटेको छ । एक साताको तुलनामा बिहीवार काठमाडौँमा करीव ६ गुणाले कम तरकारी आपूर्ति भएको छ ।

उपत्यकामा तरकारी आपूर्तिको करीव एक तिहाई हिस्सा ओगट्ने कालीमाटी तरकारी बजारमा बिहीवार एक लाख १० हजार २३१ किलो मात्र तरकारी भित्रिएको छ ।

दशैँ बिदा शुरु हुनुअघि कात्तिक ३ गते छ लाख ३६ हजार ४३५ किलो तरकारी कालीमाटी बजारमा भित्रिएको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्याङ्क छ।

नेपालीको प्रमुख ठूलो चाड दशैँमा उपत्यकाबाट लाखौँको संख्यामा सर्वसाधारण बाहिरिने भएपछि व्यापारीहरुले काठमाडौँ खाली हुने क्रम बढेसँगै तरकारी आपूर्ति कम गर्ने गरेको समितिले जनाएको छ ।

समितिको तथ्याङ्क अनुसार कात्तिक ३ गतेको आपूर्ति नै पछिल्लो दश दिन यताको अधिकतम आपूर्ति हो । त्यसयता क्रमशः घट्दो क्रममा रहँदा बुधवारको आपूर्ति सबैभन्दा कम हो ।

कालीमाटी बजारमा कात्तिक ४ गते चार लाख ७९ हजार, ५ गते चार लाख ५६ हजार, छ गते ३ लाख ६२ हजार, ७ गते एक लाख ७८ हजार र ८ गते दुई लाख १७ हजार किलो तरकारी भित्रिएको छ ।

बिहीवार कालीमाटी बजारमा भित्रिएको तरकारीजन्य उत्पादनमध्ये करीब ८४ हजार किलो तरकारी, १४ हजार ५६५ किलो फलफुल, तीन हजार दुई सय किलो मसलाजन्य उत्पादन र आठ हजार ५५८ किलो माछा भित्रिएको छ।

आपूर्ति घटेसँगै तरकारीको मूल्य भने बढ्दै गएको छ । कालीमाटी बजारको तरकारीको मूल्य दैनिक रुपमा अद्यावधिक गर्ने गरेको छ ।

तरकारीको पछिल्लो मूल्य विवरण हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ ।



प्रतिक्रिया दिनुहोस !