२१ बैशाख २०८१, शुक्रबार

आज विश्वभर ‘क्रिसमस डे’ मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीसमेत उच्च पदस्थले व्यक्त गरे शुभकामना

प्रकाशित मिति :  25 December, 2023 6:40 am


काठमाडौँ। आज डिसेम्बर २५, क्रिसमस डे । विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । 

येशु ख्रिष्टको जन्मदिनको उत्सवको रूपमा  क्रिश्चियन धर्मालम्बीले हरेक वर्ष क्रिसमस डे मनाउँदै आएका छन्। ‘क्रिसमस डे’ का अवसरमा सरकारले सोमवार सार्वजनिक बिदासमेत दिएको छ । 

येशु अर्थात् जिसस क्राइस्टले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको मानिन्छ। उनको दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको थियो।

नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ। 

क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका उच्च पदस्थ अधिकारीले शुभकामना सन्देश दिएका छन् । 

क्रिसमस डेमा शुभकामना सन्देश व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबिच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएका छन् । 

विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइने क्रिसमस पर्वले सबै नेपालीबिच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समुन्नत नेपाल निर्माण गर्न सक्ने धारणा पौडेलको छ। 

उपराष्ट्रपति रामसहायप्रसाद यादवले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा शुभकामना व्यक्त गर्दै खुसी, हर्ष र जोसका साथ मनाइने यो पर्वले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप, भाइचारा, बन्धुत्वभाव, मैत्रीभाव आदिलाई थप प्रगाढ, बलियो र सुदृढ बनाउन सहयोग पुग्ने विश्वास उपराष्ट्रपति यादवले व्यक्त गरेका छन् । 

उपराष्ट्रपति यादवले भनेका छन्, “यस पर्वले अन्य चाडपर्वमा जस्तै मानिसलाई दया, दान र स्वयंसेवालगायत कार्यका समावेश गराउँदै खुसी र सद्भाव फैलाउन प्रोत्साहित गर्दछ । यो अत्यन्तै सकारात्मक पक्ष हो ।” 

प्रधानमन्त्री पुष्प कमल  दाहाल प्रचण्डले क्रिसमस डेको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपालको संविधानले बहुसांस्कृतिक विविधतालाई सम्मान गर्दै मौलिक हकका रूपमा सुनिश्चित गरेको विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबिच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गरी राष्ट्रिय एकता प्रवर्द्धन गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् । 



प्रतिक्रिया दिनुहोस !