माइतिघरबाट २२ जना अधिकारकर्मी पक्राउ
काठमाडौं । मानवअधिकार तथा शान्ति समाजका संस्थापक सहित २२ जना अधिकारकर्मी पक्राउ परेका छन् ।
शुक्रबार एनसेल घोटला प्रकरण सम्बन्धमा विश्वसनीय न्यायिक छानविन आयोग गठन गर्नुपर्ने माग राख्दै माइतीघरमा धर्ना दिएका २२ जना अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।
एनसेल घोटाला प्रकरण सम्बन्धमा विश्वसनीय न्यायिक छानविन आयोग गठन गर्नु पर्ने लगायतको आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले काठमाडौंको माइतीघरमा गरेको धर्नाबाट प्रहरीले २२ जना अधिकारकर्मीहरुलाई पक्राउ गरेको छ ।
एनसेलको शेयर बिक्री हुँदा कर छली भएको घटनालाई समाजले महाघोटाला र राज्य विरुद्धको अपराध भन्दै निरन्तर प्रदर्शन पनि गर्दै आएको छ ।
घोटाला प्रकरणमा प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुकै संलग्नताको तथ्य बारम्बार प्रकाशमा आएको भन्दै शान्ति समाजले विश्वसनीय न्यायीक छानविन आयोगको माग गर्दै आएको छ ।
आज पक्राउ पर्नेमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल र दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, ललितपुर शाखा सभापति मनबहादुर थापा लगायत २२ जनालाई रहेको समाजले जनाएको छ ।








