२० बैशाख २०८१, बिहिबार

कोरोना परीक्षण गर्ने आर. डी. टी. र आर. टी. पी. सी. आर. प्रविधि के हो ?

प्रकाशित मिति :  2 May, 2020 6:30 pm


हाल विश्व नै कोभिड–१९ को चपेटामा परेको छ । यो सार्स कोभिड—२ कोरोना भाइरसको प्रजातिबाट लाग्दछ । यो एक प्रकारको आर.एन. ए. (RNA) भाइरस हो ।

सम्भावित कोभिड–१९ का लक्षणहरु जस्तै ज्वरो आउने, रुघाखोकी लाग्ने, श्वासप्रश्वास प्रक्रियामा गाह्रो हुने हुन् । यस्ता खालका लक्षण बोकेर आएका बिरामी कोरोना भाइरसबाट संक्रमित हुन् कि होइनन् भनेर पुष्टी गर्ने प्रयोगशाला विधि नेै आर. डी. टी. (Rapid diagnostic test) र आर. टी.पी. सी. आर. (Real time polymerase chain reaction) हो ।

जब भाइरसले हाम्रो शरीरमा संक्रमण गर्छ तब रोग प्रतिरोधात्मक क्षमता सक्रिय भएर जान्छ । संक्रमणको सातदेखि चौध दिनपछि भाइरस विरुद्ध एन्टिबडी बन्न थाल्छ, जस्ले भाइरससँग लड्न तथा भाइरसलाई निर्मुल पार्न सहयोग पुर्याउदछ ।

हाम्रो शरीरले आइ. जी. एम. (IgM) नामक एन्टिबडी संक्रमण भएको सातदिन पछि बनाउँछ । जुन दुई देखि तीन हप्तासम्म शरीरमा रहन सक्छ भने आइ.जी.जी.(IgG) नामक एन्टिबडी दुई हप्तापछि बनाउँदछ र त्यो धेरै लामो समयसम्म शरीरमा रहिरहन्छ ।

तसर्थ र्यापिड डाईगोनोष्टिक टेष्ट किटले आइ.जी.एम. र आइ. जी. जी एन्टिबडी पत्ता लगाउन सहयोग पुर्याउदछ । यो जाँच गर्दा संक्रमण भएको एक हप्ता देखि महिनौ दिनसम्म पनि पोजेटिभ आउन सक्दछ ।

यसको नतिजा भने प्रयोगशालामा दशदेखि पन्ध्र मिनेट भित्र प्राप्त गर्न सकिन्छ । त्यसै गरी आर. टी. पी. सी. आर. भने जटिल खालको विधि हो । यसले भाइरसको जेनेटिक म्याटेरियल पत्ता लगाउन सहयोग गर्दछ ।

आर.टी. पि. सी. आर.को नतिजा पोजेटिभ आउनु भनेको हाम्रो शरीरमा भाइरसको संक्रमण छ भन्ने बुझिन्छ । यो प्रविधिबाट सुरुवातको आवस्थामा नै रोग पत्ता लगाउन सकिन्छ । यसको नतिजा आउन चार देखि ६ घण्टा कुर्न पर्ने हुन्छ ।

अहिले आमजनमानसमा भएको दुविधा पनि यही हो कि आर. डी. टी. पोजेटिभ भयो भने कोरोना संक्रमण छ कि छैन भन्ने । यसर्थ आर. डी. टी. पोजेटिभ आयो र आर.टी. पी. सी. आर. नेगेटिभ आयो भने रोग निको भएको बुझ्नु पर्दछ ।

आर.डी. टी. नेगेटिभ आयो आर. टी. पी. सी. आर. पोजेटिभ आयो भने कोरोना संक्रमण प्रारम्भिक चरणमा रहेको बुझिन्छ । साथै आर.डी. टी. र आर. टी.पी. सी. आर. दुबै पोजेटिभ आएको खण्डमा भाइरसको संक्रमण छ भन्ने बुझिन्छ ।

त्यसैले आर. डी. टी. पोजेटिभ आउँदैमा आत्तिनु पर्दैन र आर. डी. टी. नेगेटिभ भएपनि मिल्दो जुल्दो लक्षणहरु छन् भने आर. टी. पी. सी. आर. प्रविधिबाट जाँच गरी संक्रमण पत्ता लगाउनु पर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस !