६ जेष्ठ २०८१, आइतबार

कोरोनाबाट विदेशमा रहेका ७३ नेपालीको मृत्यु, ५ हजार ३ सय भन्दा बढी संक्रमित

प्रकाशित मिति :  3 May, 2020 8:55 am


काठमाण्डौं, २१ वैशाख ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण विदेशमा रहेका ७३ पुगेको गैर आवासीय नेपाली संघले जनाएको छ ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा ८, साउथ इष्टमा ११, साउथ बेष्टमा ३ गरी ४९ जनाको मृत्यु भएको छ ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । जसमध्ये मध्य न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु समितिले जनाएको छ ।

यस्तै, संयुक्त अरब इमिरेट्स्(युएई) मा ५, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १ जनाको संक्रमणका कारण ज्यान गएको समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिनुभयो ।

यस्तै, संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर ५ हजार २ सय ४७ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये १५ सय ७० जना संक्रमण मुक्त भएको अनुमान समितिको छ ।

सापकोटाका अनुसार मध्यपूर्वका केही देशहरुमा कोरोना भाइरस संक्रमणका कारण प्रभावित हुनेको संख्या झनै बढीरहेको देखिएको छ । कतारसहित केही मध्यपूर्वका देशले २ हजार ३ सय नेपाली श्रमिकहरुमा कोरोना संक्रमण भएको तथ्यांक सार्वजनिक गरेको छन् ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडा अनुसार २७ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित छन् ।

स्वास्थ्य समितिका अनुसार विभिन्न मध्यपूर्वका देशमा २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, युके १ हजार, बहराइनमा १ सय २६, युएईमा १ सय संक्रमित छन् ।

कुवेतमा ७८, नेपाल ५९, साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्टे«लियामा १०, बेल्जियममा ६, जापानमा ६, स्वीडरल्याण्डमा ५ जना कोरोनाबाट संक्रमित भएको समितिले जनाएको छ ।

क्यानाडामा ५, जर्मनीमा ४, साईप्रसमा ३, मलेसियामा ३, न्युजिल्याण्डमा ३, माल्दिभ्समा २, माल्टामा २, हङ्गकंङ्गमा २, म्यानमारमा १, फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।

संघले कोरोना भाइरसको महामारीबाट प्रभावित भएकाहरुको सहयोगार्थ ४५ देशका राष्ट्रिय समितिमा राहत वितरणको काम गरिरहेको संघका महासचिव डा. हेम राज शर्माले जानकारी दिए ।

गैर आवासीय नेपाली संघको स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्थाद्धारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतवार विदेशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको अनुमानित तथ्यांक सार्वजनिक गर्दै आएको छ ।


 



प्रतिक्रिया दिनुहोस !