२० बैशाख २०८१, बिहिबार

किसानका बारीमै पुगेर परेका समस्या समाधान गर्न सुरु

प्रकाशित मिति :  3 May, 2020 12:53 pm


दैलेख, २१ वैशाख ।

जिल्ला कृषि विकास कार्यालय दैलेखले किसानका बारीमै पुगेर परेका समस्या समाधान गर्न सुरु गरेको हो ।

लकडाउन घोषणा भएपछि किसानलाई परेका समस्या समाधानमा जिल्ला कृषि विकास कार्यालय दैलेखले विशेष टोली गठन गरेर किसानकै बारीमा पुग्न सुरु गरेको हो ।

दैलेखको गुराँसे क्षेत्र तरकारी उत्पादनका हिसाबले निकै महत्वपूर्ण मानिन्छ । विशेष गरेर आलु र अन्य तरकारी उत्पादन हुने गुराँस गाउँपालिकाका विभिन्न क्षेत्रबाट गत वर्ष मात्र २२ करोड रुपैयाँको तरकारी जिल्ला बाहिर निर्यात भएको थियो ।

किसानको गुनासो बढ्न थालेपछि कृषि विकास कार्यालय दैलेखले कार्यालय प्रमुखको नेतृत्वमा विशेष टोली निर्माण गरेर किसानको बारीसम्म पुग्न सुरु गरेको हो ।

किसानलाई आवश्यक पर्ने बीउ तथा कीटनाशक औषधि उपलब्ध गराउनुका साथै उत्पादन भएका तरकारीको मन्डीसम्म कार्यालयकै गाडीमा उपलब्ध गराउन थालिएको छ । उन्नति कृषि एग्रोफार्ममा उत्पादन भएका फर्सी र काँक्रा बजारसम्म पु¥याउन समस्या भएको बेला कृषि विकास कार्यालयले मन्डीसम्म पु¥याइदिएपछि सहजै बिक्री भएको किसान देवेन्द्र गोदारले बताए।

कृषि विकास कार्यालय दैलेखको सहजीकरणमा दैलेखको महाबु गाउँपालिकामा उत्पादन भएको १८० क्विन्टल आलु सुर्खेत पठाइएको छ । किसानले गुनासो गरेको आधारमा बारीमै पुगेर कार्यालयको सवारी साधानमार्फत मन्डीसम्म तरकारी ल्याउने काम गरिदिएको कार्यालय प्रमुख तिलक पाण्डेले जानकारी दिए ।

प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा दैलेख जिल्लाका विभिन्न स्थानमा सामुदायिक बीउ बैंक पकेट क्षेत्र निर्माण गरिएको छ । सोहीअनुसार दुल्लू नगरपालिका–१३ मा अहिले १० लाख रुपैयाँ सहयोगमा सहकारीमार्फत प्याज, गोलभेँडा, सिमी र मकै बीउ उत्पादनसँगै रैथाने बाली जोगाउने काम पनि शुरु गरिएको छ ।

कृषकले उत्पादन गरेका बीउको बजारीकरणसँगै सदरमुकाम दैलेख बजारमा रहेका बिक्री केन्द्रसम्म बीउ ल्याइदिने काम पनि कृषि विकास कार्यालय दैलेखले सञ्चालन गरेको छ ।



प्रतिक्रिया दिनुहोस !