२६ बैशाख २०८१, बुधबार

चीनको प्रयोगशालाबाट कोरोना फैलिएको प्रमाण रहेको अमेरीकी दाबी, दिल्लीमा लकडाउन खुकुलो हुँदै

प्रकाशित मिति :  4 May, 2020 7:59 am


एजेन्सी, २२ वैशाख ।

अमेरीकी विदेशमन्त्री माइक पोम्पियोले कोरोना भाइरसको संक्रमण चीनको प्रयोगशालाबाट फैलिएको प्रमाण आफूहरुसँग रहेको दाबी गरेका छन् ।

एक टेलिभिजन अन्तवार्तामा विदेशमन्त्री पोम्पियोले चीनको प्रयोगशालाबाट कोरोना फैलिएको प्रयाप्त प्रमाण आफूहरुसँग रहेको दाबी गरेका हुन् । यद्यपी उनले प्रमाण भने नदिएको समाचार संस्था सीएनएनले जनाएको छ ।

अमेरीकाले यस्तो आरोप चीनमाथी यसअघि पनि लगाउँदै आएको छ र अध्ययनकर्ता चीन पठाउन चाहेको बताएको छ तर यसलाई चीनले ठाडै अस्वीकार गर्दै आएको छ ।

यस्तै,फ्रान्स, इटली र स्पेनमा कोरोना संक्रमणका कारण मर्नेको संख्या घट्दै गएको छ । पछिल्लो तथ्याङ्क अनुसार फ्रान्समा १ सय ३५, स्पेनमा १ सय ६४ र इटलीमा १ सय ७४ जनाको मृत्यु भएको छ । यो आँकडा २ महिनापछिको सबैभन्दा कम मृत्यु हो ।

संक्रमणबाट आक्रान्त बनेको इटलीमा लकडाउन सुरु भएपछि मृतकको संख्या कम हुँदै गएको बीबीसीले जनाएको छ । संक्रमितको संख्यापनि निरन्तर कम हुँदै गएको छ । आजदेखि इटलीमा लकडाउन पनि खुकुलो बनाउँदै लैजाने तयारी छ ।

भारतको नयाँ दिल्लीमा आजदेखि लकडाउन खुकुलो हुँदै छ । संक्रमित क्षेत्रलाई सील गरेर दिल्ली सरकारले अन्य क्षेत्रमा केही खुकुलो बनाउने तयारी गरेको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफूहरु दिल्लीको लकडाउन खोल्नका लागि तयार रहेको बताएको छ । मुख्यमन्त्री केजरीवालले हिजो दिल्लीका ९७ सम्भावित संक्रमित क्षेत्रलाई सील गरेर बाँकी खोल्नुपर्ने बताएका थिए ।

उनले भनेका छन्,‘ अब दिल्ली खोल्ने समय आएको छ । हामी कोरोना भाइरस नियन्त्रणका साथै बाँच्न पनि तयार हुनुपर्छ ।’

यसैबीच, विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ४७ हजार ४ सय ३१ पुगेको छ । संक्रमितको संख्या ३५ लाख ५७ हजार ६१ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !