१७ बैशाख २०८१, सोमबार

गणतन्त्र, संघीयता र धर्म निरपेक्षता मुलुकका लागि असान्दर्भिक भइसक्योः राजेन्द्र लिङदेन

प्रकाशित मिति :  28 January, 2024 8:29 am


गणतन्त्र, संघीयता र धर्म निरपेक्षता मुलुकका लागि असान्दर्भिक भइसक्योः राजेन्द्र लिङदेन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता मुलुकका लागि असान्दर्भिक भइसकेको टिप्पणी गरेका छन्। 

विगत १५ वर्षको अभ्यासले संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकलाई असफल भइसकेको प्रमाणित भएको उनको जिकिर छ। 

शनिबार काठमाडौँमा आयोजित ‘राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङदेनले देशलाई अब थप क्षति हुन नदिनका लागि पनि ठूला राजनीतिक दलहरु मुलुकमा राजासहितको लोकतान्त्रिक शासन व्यवस्थाको पक्षमा आउन सहमत हुनुपर्ने बताए।

उनले आफ्नो पार्टीले मुलुकलाई पछि फर्काउने नभई नयाँ बाटोमा अघि बढाउन चाहेको उल्लेख गर्दै त्यसका लागि तयार हुन पनि ठूला राजनीतिक दलहरुलाई आग्रह गरे।

उनले भने, “देशलाई थप क्षति हुन नदिनका लागि, बलियो राष्ट्रियताको लागि पहिलो कुरा त मेरो आग्रह छ–ठूलो राजनीतिक दल हौं भन्ने गणतन्त्रको संवाहक हुँ भन्नेहरुले कोर्स करेक्शन गर्न तयार हुनुप-यो, नयाँ सम्झौताका लागि तयार हुनुप-यो ।”

लिङ्देलले राप्रपाले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता भएन भनेको पछाडी फर्किउँ भनेको नभएको तर्क गरे। 

उनले भने, “हामीले पछाडि फर्कने कुरा गरेको होइन । तर यही बसिराख्न पनि सकिन्न । अब देशले यो धान्न सक्दैन । अब हिजोका पनि राम्रा, आजको पनि राम्रा कुराहरु समेटेर अब नयाँ सम्झौतामा जानुप-यो।”

नयाँ बाटो तयार पारेर अगाडि जानुप-यो भनेर राप्रपाले भनेको चर्चा गर्दै उनले देशलाई नयाँ बाटोमा लैजानुपर्ने बताए। 

माओवादीदेखि राजासम्मसँगै रहने व्यवस्था बनाउनुपर्ने उनको तर्क छ। अध्यक्ष लिङदेनले यथास्थितिमा आफूहरु बसिरहने पक्षमा नरहेको बताए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !