प्रज्ञा प्रतिष्ठानमा बुझाइयो रापती भेगका शब्दहरू, बृहत नेपाली शब्दकोशमा समेट्ने आश्वासन
काठमाडौँ । लेखक तथा साहित्यकार अमर अधिकारीले ‘रापतीका अलग शब्दहरू’ नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा) लाई हस्तान्तरण गरेका छन् ।
अधिकारीले रापती(राप्ती) भेगका शब्दहरू सङ्कलन गरेर प्रकाशन गरिएको ‘रापतीका अलग शब्दहरू’ प्रतिष्ठानका उपकुलपति निभालाई भेटेर हस्तान्तरण गरेका हुन् ।
भेगीय हिसावले प्रकाशन गरिएको शब्दकोश ग्रहणपछि उपकुलपति निभाले बृहत नेपाली शब्दकोशको आगामी संस्करणमा रापती क्षेत्रका भेगीय शब्दहरू समावेश गरिने आश्वासन दिएको अधिकारीले जानकारी दिए ।
उनले भने,“ सम्भवत यो पहिलो भेगीय शब्दकोश हो । उपकुलपति ज्यूले आगामी संस्करणमा भेगीय शब्दलाई समावेश गर्ने बताउनुभएको छ ।”
सरकारी सेवाबाट निवृत्त अधिकारी लेखन र सहित्यमा सक्रिय छन् । अधिकारीले उपकुलपति निभालाई आफ्नो आत्मकथा संग्रह ‘ओगिल्जा’ पनि हस्तान्तरण गरेका छन् । आफू जन्मे हुर्केको ठाउँ र आसपासमा प्रचलित मौलिक परम्परा, रहनसहन र संस्कृति बदलिँदै गएको र स्थानीयस्तरका शब्दहरू लोप हुनथालेको र आगन्तुक शब्दहरूको प्रयोग हुनथालेकोमा अधिकारीले चिन्ता व्यक्त गरे ।
उनले भने,“ स्थानीय शब्द लोप हुन थाले । आगन्तुक शब्दको बाहुल्यता हुन थाल्यो । यसको संरक्षण होस भनेर रापती क्षेत्रमा बोल्ने शब्द सङ्कलन गरेको हुँ ।”
साविक रापती अञ्चल मुलुक संघीयतामा गएपछि लुम्बिनी प्रदेशभित्र परेको छ ।








