५ जेष्ठ २०८१, शनिबार

रुपान्तरण अभियान सफल भएको माओवादी केन्द्रको निस्कर्ष, आज पनि वैठक वस्ने

प्रकाशित मिति :  12 February, 2024 9:05 am


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) ले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सफल भएको निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्रको आईतवार बसेको केन्द्रिय कमिटी बैठकमा प्रदेश इन्चार्ज तथा अध्यक्षहरुले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सफल भएको प्रतिवेदन पेश गरेका हुन् ।

बैठकमा सातवटा भौगोलिक र अन्य ३ वटा गैर भौगोलिक गरी १० प्रदेशका इन्चार्ज र अध्यक्षहरुले अभियानको प्रतिवेदन राख्दै बोलेका थिए । त्यस्तै अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका प्रमुखले पनि बोलेका थिए ।

पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा बोल्ने सबै नेताहरुले विशेष रुपान्तरण अभियान सफल र सार्थक भएको प्रतिवेदन पेश गरेको जानकारी दिए।

उनले अभियानका क्रममा ७५ प्रतिशत नेता, कार्यकर्ता परिचालित भएका र अभियानले जनतामा माओवादी केन्द्रप्रति आशा जगाएको बताए।

बैठकमा बोल्ने नेताहरुले आगामी दिनमा पार्टी नेता, कार्यकर्ताहरुको कामको आधारमा मूल्यांकन गर्दै राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्ड दिनुपर्ने व्यवस्था गर्न माग समेत गरेको जानकारी गराए।

अभियानले पार्टी नेता तथा कार्यकर्ताहरुको मूल्यांकनको आधार पनि राम्रो बनेको प्रवक्ता सापकोटाको भनाई छ ।

सापकोटाले भने, “अभियानले कसले कति काम ग¥यो ? कसले गरेन ? को सक्रिय भयो, भएन भन्ने कुरा धेरै राम्रो सँग थाहा भएको छ र मूल्यांकनको आधार राम्रो बनेको छ ।”

उनले अभियानमा ७५ प्रतिशत नेता, कार्यकर्ताहरु परिचालित भएको र जनतामा केही आशा जगाएको भनाइ छ।

उनले भने, “आम नेता र कार्यकर्ताले जनताको कुरा सुनेका छन् । समाजसेवा गरेका छन् । विकास निर्माणको काममा सहभागि पनि भएका छन् । जबसम्म मोर्चा र पार्टी चलायमान, गतिशिल, जीवन्त भएको छ ।”

माओवादी केन्द्रको केन्द्रिय कमिटी बैठक सोमवार (भोलि) बिहान ११ बजे पुनः बस्ने प्रवक्ता सापकोटाले जानकारी दिए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !