२० बैशाख २०८१, बिहिबार

नेपाल रत्न तथा आभुषण संघभित्र विवाद चर्कियो,सुन कोटामा अवैध कारोबार भएको भन्दै प्रहरीमा उजुरी

प्रकाशित मिति :  25 February, 2024 8:30 am


काठमाडौं । नेपाल रत्न तथा आभुषण संघभित्र सुनको कोटा वितरणमा अनियमिता भएको भन्दै विवाद चर्किदै गएको छ ।

वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले संघका अध्यक्ष र पूर्व पदाधिकारीले सुनको भारत तर्फ तस्करी गरेको भन्दै प्रहरीमा उजुरी गराएपछि विवाद थप सतहमा आएको हो ।

विभिन्न जिल्लामा जाने सुनको कोटा स्टकमा राख्न लगाएर भरियाको नाउँमा खोलिएका कम्पनी मार्फत सुनको अवैध व्यापार भएको भन्दै छानविनका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा वरिष्ठ उपाध्यक्ष गुप्ताले उजुरी दर्ता गराएका हुन् ।

संघका मुख्य पदाधिकारीहरूले विभिन्न जिल्लामा वितरण गर्नुपर्नेमा खुद्रा तथा साना व्यवसायीको कोटा होल्डगरी बाणिज्य बैंकहरूको टेजरी विभागसँग मिलेमतोमा आफ्ना कामदारको नाउँमा दर्ता भएका कम्पनी मार्फत सुनको अवैध व्यापार गर्दै आएको गुप्ताको जिकिर छ ।

वरिष्ठ उपाध्यक्ष गुप्ताले संघका अध्यक्ष सुमनमान ताम्रकार, निवर्तमान अध्यक्ष जोसना श्रेष्ठ, संस्थापक अध्यक्ष सुरेशमान श्रेष्ठ, द्वितिय उपाध्यक्ष निर्मल तुलाधर लगायतले बैंकबाट लिएको कोटाको सुन देखाएर अवैध मार्गभएर भित्रिएको सुन भरिया मार्फत भारत तस्करी गरेको गम्भीर आरोपसहित उजुरी गरेका छन् ।

उजुरीमा साना तथा मझौला व्यवसायीले कोटा अनुसार पाउँनुपर्ने सुन बैंकको स्टकमा राख्न लगाई १५ दिनको म्याद सकिएपछि विभिन्न कम्पनी मार्फत सुन उठाउने गरेको उजुरी पत्रमा उल्लेख गरेका छन् ।

विगत लामो समयदेखि सुनको अवैध कारोवारमा लागेका संघका पदाधिकारीहरूले होटल, धरजग्गा र क्यासिनोमा समेत लगानी गरेको दाबी गुप्ताको छ ।

सुनको कोटामा शङ्कास्पद गतिविधि भएको भन्दै राजस्व अनुसन्धान आयोगले समेत छानविन सुरु गरेको छ ।



प्रतिक्रिया दिनुहोस !