१५ बैशाख २०८१, शनिबार

काठमाडौँ महानगरका चार वटा अस्पतालको फोहोर संकलनमा रोक

प्रकाशित मिति :  25 February, 2024 5:26 pm


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अनुगमनका क्रममा आज चार वटा अस्पतालको फोहोर संकलनमा रोक लगाइएको छ ।

कलंकी क्षेत्रमा रहेका सहिद मेमोरियल अस्पताल, नेपाल नेशनल अस्पताल, चावहिलका दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहोर संकलनमा रोक लगाइएको ल्याण्डफिल साइट इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिए । कलंकी क्षेत्रका अस्पतालहरूको गएको शुक्रबार र चावहिल क्षेत्रका अस्पतालको आज अनुगमन गरिएको थियो ।

“ल्याण्डफिल साइटमा कुनै पनि हानीकारक फोहोर नपुगोस भनेर हामीले अनुगमन गरेका हौँ । अनुगमनका क्रममा फोहोर व्यवस्थापन अभ्यास हेर्दा फरक फरक अवस्था देखिएको छ,” श्रेष्ठले भने, “संक्रमित फोहोरको व्यवस्थापन उत्पादक आफैँको हुन्छ । अस्पतालहरूको अवस्था हेर्दा सबैमा एकै खालको कसुर छैन । कसैले तत्काल सुधार गर्न सक्ने देखिन्छ । कुनै अस्पतालको फोहोर व्यवस्थापनका लागि पूर्वाधार र संयन्त्र नै बनाउनु पर्ने देखिएको छ । यसका आधारमा रोकिएको फोहोरको सम्बन्धमा निर्णय गरिनेछ ।”

यस अघि महाराजगञ्जमा रहेको कान्ति बाल अस्पतालको फोहोर संकलनमा महानगरले रोक लगाएको छ ।



प्रतिक्रिया दिनुहोस !