८ कार्तिक २०८३, शनिबार

इरानमाथि नयाँ सैन्य आक्रमण नगर्न क्षेत्रीय र युरोपेली देशको आग्रह, होर्मुज जलडमरूमध्य खुला गर्न आह्वान

प्रकाशित मिति :  24 October, 2026 10:52 am


काठमाडौं । क्षेत्रीय तथा युरोपका आठ देशले इरानमाथि नयाँ सैन्य आक्रमण नगर्न आग्रह गर्दै होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउन आह्वान गरेका छन् ।

शुक्रबार टर्कीको इस्तानबुलमा भएको आठ देशका विदेशमन्त्रीहरूको बैठकमा इरानमाथि सैन्य कारबाहीको विरोध गर्दै क्षेत्रीय द्वन्द्व थप फैलिन नदिन संवाद र कूटनीतिक पहलमा जोड दिइएको हो ।

बैठकमा क्षेत्रीय चार देश टर्की, इजिप्ट, पाकिस्तान र साउदी अरेबियाका साथै युरोपेली चार देश बेलायत, फ्रान्स, जर्मनी र इटालीका विदेशमन्त्री सहभागी थिए ।

बन्द कोठामा भएको छलफलपछि टर्कीका विदेशमन्त्री हाकान फिदानले क्षेत्रीय चार देशबीच पहिले छुट्टै बैठक भएको जानकारी दिए । उक्त बैठकमा इरानमाथि सम्भावित आक्रमणको खतरा तथा साउदी अरेबियामाथि हुथी विद्रोहीले गरेका पछिल्ला आक्रमणबारे छलफल भएको उनले बताए ।

त्यसपछि युरोपेली देशका प्रतिनिधि पनि सहभागी भएपछि जारी द्वन्द्वका व्यापक प्रभावबारे छलफल गरिएको फिदानको भनाइ थियो ।

फिदानका अनुसार क्षेत्रका दुई प्रमुख द्वन्द्व तथा होर्मुज जलडमरूमध्य, बाब अल–मन्देब जलडमरूमध्य र ब्ल्याक सीलगायतका सामुद्रिक मार्गमा उत्पन्न खतराले ऊर्जा आपूर्ति, खाद्य सुरक्षा र स्वतन्त्र व्यापार प्रणालीमा गम्भीर असर पारेको छ । यसले विश्वव्यापी रूपमा ठूलो दबाब सिर्जना गरिरहेको उनले बताए ।

बैठकमा सहभागी सबै देशले द्वन्द्व थप विस्तार हुन नदिन संवाद आवश्यक रहेकोमा साझा धारणा व्यक्त गरेको फिदानले जानकारी दिए । उनले सहभागी सबै देश इरानमाथि सैन्य कारबाही गर्ने पक्षमा नरहेको पनि बताए ।

यसैगरी, युक्रेन र रुसबीच युद्धविराम तथा व्यापक शान्ति सम्झौता सुनिश्चित गर्नुपर्नेमा पनि बैठकले जोड दिएको छ । ब्ल्याक सी हुँदै हुने सामुद्रिक आवागमनलाई सुरक्षित र निर्बाध बनाउनु आवश्यक रहेको फिदानले बताए ।

– न्युज एजेन्सी नेपाल (सिन्ह्वाको सहयोगमा)



प्रतिक्रिया दिनुहोस !