बडादशैँ समापन नजिकिएसँगै राजधानी फर्किनेको घुइँचोः मुख्य नाकाहरूमा यात्रु तथा सवारी चाप बढ्यो
काठमाडौं । बडादशैँको बिदा सकिन लागेसँगै दसैँ मनाउन गृहजिल्ला तथा गाउँघर पुगेका सर्वसाधारण काठमाडौं उपत्यका फर्किन थालेका छन्। राजधानी भित्रिने प्रमुख नाकाहरूमा यात्रुवाहक सवारीसाधन र यात्रुको चाप बढेको छ।
काठमाडौं भित्रिने प्रमुख नाका कलङ्की, कोटेश्वर, बालाजु तथा भक्तपुरको जगाती क्षेत्रमा आइतबारदेखि सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था र व्यापार व्यवसाय खुल्न थालेसँगै राजधानी फर्किनेको चाप बढेको हो।
विजयादशमीका दिनदेखि मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्न गाउँघर पुगेका सर्वसाधारण सार्वजनिक बिदा सकिन लागेपछि आफ्नो नियमित कर्मथलो फर्किन थालेका हुन्।
लामो दूरीबाट उपत्यका भित्रिने बस, माइक्रोबस तथा निजी सवारीसाधनको बाक्लो आगमनले प्रमुख नाकाहरू व्यस्त बनेका छन्।
विशेषगरी पश्चिमी नाका कलङ्की–नागढुङ्गा खण्ड तथा पूर्वी नाका भक्तपुरको जगाती हुँदै कोटेश्वरतर्फ आउने सडकमा सवारीसाधनको चाप बढेको छ।
यात्रु तथा सवारीसाधनको आवागमन बढेसँगै उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रमुख नाकाहरूमा अतिरिक्त जनशक्ति परिचालन गरी ट्राफिक व्यवस्थापनलाई तीव्र बनाएको जनाएको छ।
सवारी आवागमन सहज बनाउन तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न निगरानी र जाँच प्रक्रियालाई समेत कडा पारिएको छ।
लामो बिदा मनाएर काठमाडौं फर्किने यात्रुले कतिपय स्थानमा सडक जाम तथा सार्वजनिक सवारीसाधनमा तोकिएकोभन्दा बढी भाडा असुल्ने समस्या भोग्नुपरेको गुनासो गरेका छन्।
ट्राफिक प्रहरीले भने बढी भाडा असुल्ने सवारीसाधनमाथि निगरानी बढाइएको र यात्रुको सहायताका लागि सहायता कक्षहरू सक्रिय राखिएको जनाएको छ।
दशैँका अवसरमा काठमाडौं उपत्यकाबाट करिब १५ लाखभन्दा बढी नागरिक बाहिरिएको अनुमान गरिएको थियो। कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा रहे पनि नियमित कामकाजमा फर्किनुपर्ने भएकाले राजधानी फर्किनेको चाप बढेको हो।
आगामी दुई–तीन दिनसम्म काठमाडौं उपत्यका भित्रिने प्रमुख नाकाहरूमा यात्रु तथा सवारीसाधनको चाप उच्च रहने अनुमान गरिएको छ।
– न्युज एजेन्सी नेपाल








