पोखराका ग्रामीण बस्तीमा होमस्टेको आकर्षण, पर्यटकको चहलपहलले ब्युँझियो ग्रामीण अर्थतन्त्र (तस्बिरसहित)
काठमाडौं । पर्यटकीय सिजन सुरु भएसँगै पोखरा आसपासका ग्रामीण बस्तीमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको छ ।
सहरको कोलाहलभन्दा टाढा प्रकृतिसँग रमाउन चाहने पर्यटकको रोजाइमा गाउँका होमस्टे पर्न थालेका छन् । सस्तो प्याकेज, स्थानीय खानपान, मौलिक संस्कृति र हिमशृङ्खलाको मनमोहक दृश्यले पर्यटकलाई गाउँतर्फ आकर्षित गरेको हो । दसैँ सकिएलगत्तै कास्कीका विभिन्न ग्रामीण बस्तीमा पर्यटकको आगमन बढ्दा होमस्टे सञ्चालक उत्साहित भएका छन् ।
पोखरा महानगर आसपासका डाँडाकाँडामा रहेका होमस्टेमा स्वदेशी तथा विदेशी पाहुनाको उपस्थिति बढ्दै गएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ स्थित हेम्जाकोटमा पनि यतिबेला पर्यटकको चहलपहल बढेको छ । हिमशृङ्खलाको मनोरम दृश्य, शान्त वातावरण र गाउँको मौलिक जीवनशैलीले हेम्जाकोट आउने पर्यटकलाई आकर्षित गरिरहेको छ । पोखरा घुम्न आउने पर्यटकसमेत नजिकैका ग्रामीण बस्तीमा पुगेर केही समय बिताउन रुचाउन थालेका छन् ।
ग्रामीण पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) का सचिव भीमराज पौडेलका अनुसार पोखरा आउने पर्यटकलाई आसपासका गाउँसम्म पुर्याउन सके ग्रामीण पर्यटनले थप गति लिन सक्छ । प्राकृतिक सौन्दर्य र स्थानीय आतिथ्यका कारण गाउँका होमस्टे पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको उनले बताए । अहिले होमस्टेमा पाहुनाको आगमन राम्रो रहेको र सातामा दुई दिन बिदा हुने भएकाले शुक्रबार र शनिबार पर्यटकको चहलपहल बढी हुने गरेको उनको भनाइ छ ।
पर्यटकीय सिजन सुरु भएसँगै अघिल्लो वर्षको तुलनामा यस वर्ष पाहुनाको उपस्थिति उल्लेख्य रूपमा बढेको भन्दै होमस्टे सञ्चालक उमा गुरुङ पनि खुसी छिन् । पर्यटकको आगमन बढ्दा स्थानीयस्तरमै आम्दानीको अवसर सिर्जना भएको उनको भनाइ छ । कोरोना महामारीपछि ठप्प भएको होमस्टे व्यवसाय अहिले पुनः तङ्ग्रिएको उनले बताइन् ।
गाउँमा पर्यटक पुग्न थालेपछि स्थानीय गतिविधि पनि बढेका छन् । होमस्टेमा पाहुनालाई सहज र आत्मीय अनुभव दिलाउन सञ्चालकहरूले मौलिक घर, स्थानीय परिकार, प्राकृतिक वातावरण र परम्परागत आतिथ्यलाई प्राथमिकता दिन थालेका छन् ।
पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलका अनुसार गाउँमा पर्यटकको बसाइलाई सहज र आकर्षक बनाउन विभिन्न तालिम तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन हुँदै आएका छन् । मानिसहरू प्रकृतिसँग रमाउन चाहने भएकाले पोखराका होमस्टे उपयुक्त गन्तव्य बन्दै गएको उनले बताए । रैथाने खानाका कारण पनि पर्यटकलाई गाउँ मन पर्ने गरेको उनको भनाइ छ । पर्यटकलाई बस्ने सुविधासँगै स्थानीय संस्कृति, मौलिक घर र खानपानको अनुभव दिलाउन सके ग्रामीण पर्यटनबाट स्थानीय समुदायले थप लाभ लिन सक्ने उनले बताए ।
दसैँपछि कास्कीका गाउँमा बढेको पर्यटकको चहलपहलले ग्रामीण पर्यटनमा नयाँ उत्साह थपेको छ । प्रकृतिसँग नजिक रहेर मौलिक जीवनशैलीको अनुभव लिन चाहने पर्यटकको आकर्षण बढ्दै जाँदा गाउँका होमस्टे स्थानीय रोजगारी र आम्दानीको महत्त्वपूर्ण माध्यम बन्ने अपेक्षा गरिएको छ ।









– न्युज एजेन्सी नेपाल








