३ जेष्ठ २०८१, बिहिबार

संसदीय समितिले स्पञ्ज आइरन र बिलेट्स प्रयोग गरिरहेको छड उत्पादन गर्ने कारखाना अवलोकन गर्ने

प्रकाशित मिति :  4 March, 2024 8:50 am


काठमाडौँ। स्पञ्ज आइरन र बिलेट्स प्रयोग गरेर बनाउने फलामे छड गुणस्तरीय बनाउन उद्योगी व्यवसायीहरुलाई सांसदहरुले आग्रह गरेका छन् ।

आईतवार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै सांसदहरुले पछिल्लो समय स्पञ्ज आइरन र बिलेट्स प्रयोग गरेर बनाउने फलामे छड गुणस्तरीय नभएको भन्ने गुनोसा आएको भन्दै यस्तो आग्रह गरेका हुन् ।

समितिले स्पञ्ज आइरन र बिलेट्स प्रयोग गरेर फलामे छड उत्पादन गर्ने कारखानाको अवलोकन गर्ने भएको छ । स्पञ्ज आइरन र बिलेट्सबीच भन्सार महशुल एवं अन्तःशुल्कका विषयमा थप अध्ययन र उद्योगको अवलोकन गर्न उपसमिति बनाएर अवलोकन गर्ने भएको हो ।

फलामे छडको कच्चापदार्थका रूपमा रहेको स्पञ्ज आइरन र बिलेट्सबीचको भन्सारमा व्यवसायीको निरन्तर गुनासो आउने गरेको भन्दै उपसमिति बनाएर अवलोकन गर्ने निर्णय गरिएको छ ।

सांसदहरुले फलामे छड उत्पादन गर्ने ठूला उद्योगहरुमा नेपाली कामदार भन्दा पनि विदेशी कामदार राख्नुको कारण खुलाउनुपर्ने बताए । उनीहरुले स्पञ्ज आइरन र बिलेट्स प्रयोग गरेर बनाउने फलाम उद्योगहरुले गुणस्तरहिन कच्चा पदार्थको प्रयोग गरेको गुनासो आएको भन्दै उद्योगीहरुलाई प्रश्न गरेका छन् ।

सांसदहरुले स्पञ्ज आइरन र बिलेट्सबीच भन्सार महशुल एवं अन्तःशुल्कका विषयमा थप अध्ययन गर्नुपर्ने देखिएको बताए । सांसद रेखा यादवले नेपालीहरुको ज्यान जान्छ भनेर विदेशबाट उद्योगमा कामदार राख्ने उचित नभएको बताइन्।

यादवले उद्योगहरुमा काम गर्ने कामदारको सुरक्षाको ग्यारेन्टी गर्न सक्नुपर्ने सुझाइन्। उनले स्पञ्ज आइरन र बिलेट्सबीच ५ देखि ६ रुपैयाँको मूल्यमा अन्तर रहेको भन्दै के कारणले फरक रहेको उल्लेख गर्न आग्रह गरिन्।

सांसद मनबहादुर गुरुङले सरकारले लाइसेन्स दिएर उद्योग दर्ता गर्न दिने तर उद्योगमा उत्पादन भएको छड प्रयोग गर्नुको कारण के हो ? भन्दै प्रश्न गरे। वैठकमा बोल्दै उनले उद्योगले उत्पादन गर्दा सामग्री गुणस्तरिय उत्पादन गर्नुपर्ने बताए।

उनले उत्पादन गुणस्तर भए/नभएको विषयमा सरकारले अनुगमन गर्न सुझाव दिँदै कुन देशबाट मेसिन ल्याउँदा छड गुणस्तरीय हुन सकेन त्यो पनि व्यवसायीहरुले स्पष्ट जानकारी दिनुपर्ने बताए।

समिति बैठकमा सांसदहरुले नेपाली उद्योगहरुमा नेपाली कामदार राख्दा युनियन खोल्ने र व्यवसायीहरुलाई दुःख दिने गरेकाले उद्योगहरुले विदेशी कामदार राख्न बाध्य भएको बताए। ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !