२१ बैशाख २०८१, शुक्रबार

शिक्षामा खैरहनीको नौलो अभ्यासः बस्ती-बस्तीमा गृहकार्य कक्षा सञ्चालन

प्रकाशित मिति :  8 March, 2024 12:47 pm


काठमाडौँ । चितवनको खैरहनी नगरपालिकाले शिक्षाको क्षेत्रमा नौलो अभ्यास सुरू गरेको छ ।

नगरपालिकाले विपन्न परिवारका बालबालिकाको लागि बस्तीमै गृहकार्य कक्षा सञ्चालन गरेको हो । दैनिक ज्यालामजदुरी गरेर परिवार पाल्नुपर्ने, बालबच्चालाई पठनपाठनमा सहजीकरण गर्न नसक्ने परिवारका बालबालिकाको लागि उनीहरूलाई पायक पर्ने बस्तीमा गृहकार्य कक्षा सञ्चालन गरिएको हो ।

नगरपालिकाले सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीको लागि नगरभित्रको २८ स्थानमा गृहकार्य कक्षा सञ्चालन गरेको छ । गृहकार्य कक्षाको लागि बस्तीे नजिक रहेको कोठा,सामुदायिक भवन, संघसस्थाको भवन र विद्यालय नै भएको स्थानमा विद्यालयकै कोठामा गृहकार्य कक्षा सञ्चालन गरिएको खैरहनीका नगरप्रमुख शशीकुमार खनियाले जानकारी दिए ।

केही स्थानमा कोठा भाडामा लिएर समेत कक्षा सञ्चालन गरिएको र गृहकार्य कक्षाको लागि कापी समेत नगरपालिकाले उपलब्ध गराएको बताए । विद्यालयमा अध्ययन गरेपछि घरमा सहजीकरण, सिकाउने व्यक्ति नहुदा विद्यार्थीले पर्याप्त शैक्षिक वातावरण नपाएको विषयलाई मध्यनजर गर्दै गृहकार्य कक्षा सञ्चालन गरिएको नगरप्रमुख खनियाले बताए ।

विद्यालयमा दिइएको गृहकार्यसँगै अन्य थप विषयवस्तु र व्यवहारिक शिक्षा समेत गृहकार्य कक्षामा दिइँदै आएको छ । गृहकार्य कक्षाको सहायताले विपन्न परिवारका बालबालिकामा विद्यालयपश्चात पनि पढ्ने लेख्ने बानीको विकास हुने, अभिभावकको समय अभावमा समेत बालबालिकामाथी निगरानी र संरक्षण प्राप्त हुने खैरहनी नगरपालिककी उपप्रमुख कविता उप्रेतीले बताए ।

गृहकार्य कक्षाको लागि वडा समितिले छनौट गरेका २८ जना सहजकर्ताहरुलाई खटाएको उनले बताए । गृहकार्य कक्षाको लागि सहजकर्ताहरुमा बहालवाला शिक्षक, स्वयंसेवक शिक्षक र कक्षा १२ उत्तिर्ण गरेकाहरू रहेका छन् ।

प्रत्येक दिन दुईघण्टा कक्षा सञ्चालन हुँदै आएको छ । गृहकार्य कक्षा कार्यक्रममा नगरपालिकाको १३ वटै वडाका करिव ७ सय ८४ जना विद्यार्थी लाभान्वित हुने खैरहनीका नगर शिक्षा अधिकारी राजु बानियाँले जानकारी दिए । नगरपालिकाले यसअघि सामुदायिक विद्यालयहरूमा विषयगत अध्ययन गराउन ५८ जना स्वयंसेवक शिक्षकहरू खटाएर पठनपाठन गराउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस !