१२ श्रावण २०८१, शनिबार

दाङ स्वर्गद्वारी आश्रमका मोही किसान र सरकारबिच सहमति

प्रकाशित मिति :  20 March, 2024 6:23 pm


काठमाडाैँ । दाङका स्वर्गद्वारी आश्रमका मोही किसान र सरकारबिच सहमति भएको छ ।

सिंहदरबारस्थित भूमि, व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्रालयमा आज भएको आन्दोलनमा स्वर्गद्वारी आश्रमका मोही किसान र सरकारबिच सहमति भएको हो ।

स्वर्गद्वारी आश्रमका मोही किसानले जग्गामा एकल स्वामित्वको माग सम्बोधन गर्न किसानले गर्दै आएको आन्दोलन आजदेखि स्थगित भएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सह–सचिव कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

उनले स्वर्गद्वारी आश्रमको नाममा दर्ता स्रेस्ता कायम भएको जग्गा रहेको द्वैद्य स्वामित्व अन्त्य गर्दै किसानको नाममा हुनुपर्ने माग गर्दै गुठी पीडित किसानसँग सरकारले छलफल र संवादका माध्यमबाट सहमति जुटेको बताए ।

उनले सहमतिमा गुठी सम्बन्धि विभिन्न गुठी,मठ,मन्दिरहरूको फरक–फरक रहेको २०७२ मा भएका व्यवस्थालाई व्यवस्थित गर्ने र स्वर्गद्वारी आश्रमका मोही किसानको माग सम्बोधन गर्नेगरी नयाँ एकिकृत गुठी सम्बन्धि कानून तर्जुमा प्रक्रियालाई तत्काल अगाडि बढाउने सहमति भएको बताए ।

सापकोटाले स्वर्गद्वारी आश्रमका मोही किसानले गर्दै आएको आन्दोलन आजदेखि स्थगित गरी आवश्यक सल्लाह सहयोग गर्नेगरी सहमति भएको जानकारी दिए ।

किसानहरूले विगत लामो समयदेखि दाङको घोराहीमा प्रदर्शनसँगै मोहीमा किसानको स्वामित्व कायम गर्न माग गर्दै आएका थिए । स्वर्गद्वारी आश्रमको दाङमा रहेको सात सय ५३ बिगाहा जग्गामा मोही कायम छ ।

मोहियानी हकका लागि भएका विभिन्न चरणका आन्दोलन र सरकारसँग पटकपटक सम्झौता भएपनि त्यसको कार्यान्वयन भएको थिएन ।



प्रतिक्रिया दिनुहोस !