१२ श्रावण २०८१, शनिबार

एक वर्षभित्रै आगलागीका ४ हजार ५ सय घटना, १ सय भन्दा बढीको मृत्यु

प्रकाशित मिति :  12 April, 2024 3:21 pm


काठमाडौँ । विगत एक वर्षमा मात्रै आगलागीका ४ हजार ५ सय घटना भएका छन् ।

ढडेलो र अन्य आगलागीका घटनामा १ सय भन्दा बढी नागरिकले ज्यान गुमाएका छन् भने ५ सयजना भन्दा बढी घाइते भएका छन् ।

स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रले विज्ञप्ति जारी गर्दै यो तथ्याङ्क सार्वजनिक गरेको हो ।

केन्द्रले भनेको छ,“ गर्मी बढेसंगै बढ्ने डढेलो तथा लापरबाहीका कारण हुन सक्ने आगलागीकाबारेमा सबै सचेत रहुनुहुन र रोकथामका उपायहरू अविलम्ब अपनाउनुहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सरोकारवाला सबैमा अनुरोध गर्दछ ।”

चैत २६ गते साँझ मात्रै डोल्पाको ठुलीभेरी नगरपालिका–४ मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा जलेर घाइते भएका चारजना मध्ये तीनजना सैनिकको मृत्यु भएको थियो भने चैत २९ गते डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ४ स्थित सामुदायिक वनमा वनमा च्याउ टिप्न गएका ३ जना घाइते बालकहरूमध्ये १ जनाको मृत्यु भएको छ ।

२ जनालाई कीर्तिपुर अस्पतालको जलन उपचार केन्द्रमा उपचारका लागि हेलिकोप्टरमार्फत उद्दार गरिएको छ । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा पनि आगलागीमा परी घाइते भएका ६ जनामध्ये ५ जना जिल्ला अस्पतालमा उपचार पछि डिस्चार्ज भएका छन् भने एक जनाको थप उपचार भइरहेको केन्द्रले जनाएको छ ।

यी सबै एक हप्ताभित्र भएका घटना हुन् ।



प्रतिक्रिया दिनुहोस !