१९ बैशाख २०८१, बुधबार

अवैध लागु औषधसहित दुई जना पक्राउ

प्रकाशित मिति :  18 April, 2024 2:45 pm


काठमाडौँ । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले खैरो हेरोइनसहित पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ५ घर भएका ३५ वर्षीय राजु थाम्सुहाङलाई गत वैशाख ३ गते ललितपुर महानगरपालिका वडा नम्बर १४ विशालाचोकबाट पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यकालाई केन्द्रबिन्दु बनाई लागु औषध खैरो हेरोइन कारोबारमा संलग्न व्यक्तिलाई लामो समयको निगरानी पश्चात् यस लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले थाम्सुहाङलाई पक्राउ गरेको प्रहरी उपरीक्षक रामेश्‍वर कार्कीले जानकारी दिए । उनको साथबाट प्रहरीले खैरो हेरोइन २३२ ग्राम, नगद रु। १ लाख ८० हजार र डिजिटल तराजु १ थान समेत बरामद गरेको छ ।

त्यस्तै काठमाडौँको गोकर्णेश्‍वर नगरपापालिका वडा नम्बर ५ जोरपाटीबाट रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर ७ घर भएका २१ वर्षीय दिनेश सुनुवारलाई समेत पक्राउ गरेको थियो । सुनुवारलाई नियन्त्रित लागु औषध नाइट्रोभेट ७४९ ट्याब्लेटसहित पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ ।

उनीहरूमाथि लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम सम्बन्धित जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए ।



प्रतिक्रिया दिनुहोस !