२१ बैशाख २०८१, शुक्रबार

रोल्पामा डढेलो रोक्न २९ सय मिटरको उचाइ आसपास झण्डै ७ किलोमिटर अग्निरेखा

प्रकाशित मिति :  21 April, 2024 4:54 pm


फोटो : उड्वीर घर्तीमगर

रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिका-१ को मनिकोट रिडी भन्ज्याङबाट फैलिएको डढेलो रोक्न सुनछहरी गाउँपालिकाको गाम क्षेत्रमा झण्डै ७ किलोमिटर अग्निरेखा बनाईएको छ ।

आगो फैलिएपछि सुनछहरी गाउँपालिका वडा नम्बर-३ का वासिन्दा र सुरक्षाकर्मी मिलेर झण्डै ३ हजार मिटरको उचाइ आसपास ७ किलोमिटर क्षेत्रमा अग्निरेखा बनाएका हुन् ।

लुङ्ग्री गाउँपालिका-१ पाङको लेखबाट फैलिएर सुनछहरी गाउँपालिकाको गामतर्फ आउँदै गरेको थाहा पाएपछि सुनछहरी गाउँपालिका वडा नम्बर-३ का वडा अध्यक्ष उड्वीर घर्तीले अग्नीरेखा बनाउन सबै वडावासीलाई आग्रह गरेका थिए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा आपतकालीन सूचना भन्दै लेखेका थिए,“पाङको लेकबाट भिषण आगो लागी भएको र गामको सिमानातिर आउँदै गरेकाले अग्निरेखा बनाउनका लागि प्रत्येक घरबाट एकजना सकेसम्म जनाव व्यक्तिहरू आजै तुरुन्तै भव पहाडमा केन्द्रित हुनका लागि अनुरोध गर्दछु । साथै यो सूचना सबैलाई दिनका लागि पनि अनुरोध गर्दछु ।”

सूचना प्रवाह गरेर वडाअध्यक्ष घर्तीमगर र सुरक्षाकर्मीको टोली राति १२ बजेट सुनछहरी र लुङ्ग्री गाउँपालिकाको सीमानामा पुगेका थिए ।

अध्यक्ष घर्तीले लुम्बिनी सञ्चारसँग भने,“ हामी राती १२ बजेर ४ मिनेट जाँदा सीमानामा आएका थियौँ । गाउँलेहरू बिहान सबेरै आएर अग्नी रेखा बनाउन सुरु गरे ।”

अग्नी रेखा बनेपछि डढेलो फैलने सम्भावना कम भएपछि गाँउलेहरू फर्किएका छन् भने कतिपय अझै आगो फैलन सक्ने सम्भावित क्षेत्रमा छन् ।

अध्यक्ष घर्तीमगरले भने,“अहिले हावा नचलेका कारणले कम आगो फैलिएको छ तर हावा चले थप ठुलो क्षति पुराउन सक्छ ।” घना जङ्गलका कारणले पनि आगो फैलिन सजिलो हुन्छ ।”

लुङ्ग्रीको पाङ र प्युठानको सेउलीबाङ क्षेत्रमा आगो फैलिएको छ ।

अध्यक्ष घर्तीमगरले भने,“ आगो निकै ठुलो क्षेत्रमा फैलिएको छ । सुनछहरी गाउँपालिकाको गाम क्षेत्र प्रवेश गर्ने ठाउँमा अग्नी रेखा बनाएर रोकेका छौँ ।” अग्नी रेखा बनाइएकाे क्षेत्र

हिजो रोल्पाको लुङग्री गाउँपालिका वडा नं. १ मनिकोट रिडी भन्ज्याङको जङ्गलबाट आगो फैलिएको थियो ।

आगलागीबाट लुङग्री गाउँपालिकामा १३ घरगोठ जल्नुको साथै एक जना घाइते भएका छन् ।

वस्तीको आगो नियन्त्रणमा आए पनि जङ्गलमा फैलिएको आगो यथावत छ ।



प्रतिक्रिया दिनुहोस !