२३ बैशाख २०८१, आइतबार

धनुषा हत्यामा संलग्न श्रीमान् र जेठाजु पक्राउ

प्रकाशित मिति :  22 April, 2024 12:09 pm


काठमाडौँ । धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र देवर पक्राउ परेका छन् । सात महिनाअघि श्रीमतीको हत्या गरी फरार रहेका दुवै जनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर ७ नेमुवाटोलका ५५ वर्षीय सुदीप ठाकुर र ६० वर्षीय उदित ठाकुर छन् । दुवैमाथि ४५ वर्षीया रेखादेवी ठाकुरको हत्या गरेको आरोप छ । पक्राउ परेका सुदीप रेखादेवीका श्रीमान् तथा उदित जेठाजु रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गत वर्ष कात्तिक १० गते रेखादेवीको उनका श्रीमान् सुदीपसँग विवाद भएको थियो । श्रीमानले बञ्चरोले टाउकोमा प्रहार गरेपछि रेखादेवीको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको भोलिपल्ट सुदीपले आफ्नै घरभित्र खाल्डो खनी रेखादेवीको शव पुरेका थिए ।

अनुसन्धानका क्रममा रेखादेवीको हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ । घटनास्थलबाट हत्यामा प्रयोग भएको बञ्चरो र कोदालो बरामद गरिएको छ । शवको टुक्रा पनि फेला परेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !