२४ बैशाख २०८१, सोमबार

०७२ सालको भूकम्पको सम्झनामा फोटो प्रदर्शनी

प्रकाशित मिति :  24 April, 2024 4:32 pm


काठमाडौँ । वि.सं. २०७२ साल वैशाख १२ गते गएको गोरखा भूकम्पको सम्झनामा वृहत फोटो प्रदर्शनी गरिएको छ । खानी तथा भूगर्भ विभाग र सम्भायिका समाज नेपालको संयुक्त आयोजनामा विभागको प्राङ्गणमा २०७२ साल वैशाख १२ गते गएको गोरखा भूकम्पको सम्झनामा वृहत फोटो प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीमा ०७२ सालमा गोरखा भूकम्पका क्रममा खिचिएका फोटोहरु राखिएको थियो । साथै अघिल्लो वर्ष जाजरकोट र बझाङमा गएको भूकम्पका क्रममा खिचिएका र संकलन गरिएका फोटोहरु पनि प्रदर्शनीमा राखिएको थियो ।

प्रदर्शनीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै खानी तथा भूगर्भ विभागका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले भूकम्पलाई बिर्सिने गरिएको भन्दै विगतमा भूकम्पले गरेका क्षति देखाउँदै यसप्रति सचेत गराउनका लागि प्रदर्शनी गरिएको बताए ।

उनले नेपाल भूकम्पको जोखिममा रहेको देश भएको भन्दै यो कुरालाई बुझाइराख्न र भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि सचेत गराउनका लागि फोटो प्रदर्शनी गरिएको बताए । डा.अधिकारीले शहरमा भवन आचारसंहिता अनुरुपको घरहरू बनेपनि गाउँघरमा भने भवन आचारसंहिताको पालना नगरेको देखिएको बताए ।



प्रतिक्रिया दिनुहोस !