१८ बैशाख २०८१, मंगलबार

दाङमा किसानलाई अनुदानमा बीउ वितरण

प्रकाशित मिति :  11 May, 2020 5:13 pm


दाङ, २९ वैशाख ।

दाङका स्थानीय तहले कृषकलाई अनुदानमा बीउ वितरण गरेका छन् । कृषकलाई खेतीपाती समयमा ५० प्रतिशत अनुदानमा विभिन्न किसिमका बालीको बीउ वितरण गरिएको स्थानीय पालिकाले जनाएका छन् । स्थानीय तहले मकै, तरकारी, धान र वर्षे घाँसको बीउवितरण गरिरहेका छन् ।

घोराही उपमहानगरपालिकाले २०१ कृषकलाई धानको बीउ वितरण गरिएको जनाएको छ । कृषि विकास शाखा प्रमुख चोपनारायण खनालका अनुसार घोराहीका १९ वडामा सुख्खा १,२,३,६ र राम जातको धान वितरण गरिएको हो । पचास प्रतिशत अनुदानमा ८३ क्विन्टल धान एक केजीदेखि पाँच केजीसम्म वितरण गरिएको छ ।

घोराही २ रामपुरको जैविक विविधता कृषि सहकारी संस्था लिमिटेड तथा वडा नं ९ को ढिकपुरमा रहेका दिगो खाद्यबाली उत्पादक कृषि सहकारी र बागेश्वरी बीउ उत्पादक कृषि सहकारी संस्थालाई मूल बीउ वितरण गरिएको उनले बताए ।
तीन सहकारीलाई एक हजार २६० केजी धानको बीउ वितरण गरिएको छ । कृषकलाई पालिकाबाट अनुदानको बीउ रु ६० देखि रु। ७२ प्रतिकेजीसम्म परेको छ ।

राप्ती गाउँपालिका देउखुरीले तरकारी र धानको बीउवितरण गरिसकिएको जनाएको छ । तरकारीको पकेट क्षेत्र मानिने राप्तीका ४४० कृषकलाई तरकारी र ४५० कृषकलाई धानको बीउवितरण गरिएको कृषि शाखाले जनाएको छ । तीस क्वीन्टल सावाँ मन्सुली, २२ क्वीन्टल रामधान र दुई क्वीन्टल २० केजी सुख्खा ३ जातका ५४ क्वीन्टल २० केजी धान वितरण गरिएको कृषि शाखा प्रमुख महेश अधिकारीले जानकारी दिए ।

तीन लाख १३ हजार एक सय रुपैयाँमा खरीद गरी एक लाख ५६ हजार ५५० मा कृषकलाई बिक्री गरिएको अधिकारीले बताउनुभयो । राप्ती पशुपालक कृषकका लागि वर्षे घाँसको बीउ पनि वितरण गरेको जनाएको छ ।

यस्तै तुलसीपुरले किसानलाई ५० प्रतिशत अनुदानमा मकै र धानको बीउ वितरण गरेको छ । कृषि विकास शाखामा किसानले माग गरेपछि वितरण शुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ । वडागत रुपमा लिइएको तथ्याङ्कानुसार अनुदानको बीउ वितरण गर्न शुरु गरिएको कृषि विकास शाखाका प्रमुख धनराज गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !