६ जेष्ठ २०८१, आइतबार

आज मातातीर्थ औंसी, आमाको मुख हेर्ने पर्वको रूपमा मनाइँदै

प्रकाशित मिति :  8 May, 2024 7:13 am


काठमाडौँ। आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्म दिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ ।

वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा खुवाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरू भने आमाको श्राद्ध गरी उनको स्मरण गर्दछन् । यसो गरेमा मातृ ऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ ।

धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । पितृ ऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मान पूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ ।

आज बिहानैदेखि दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मातातीर्थ कुण्डमा मेला लागेको छ । आमा नहुने नरनारी उक्त कुण्डमा स्नान तथा हरिहर (विष्णु र शिव) को दर्शन र पूजाअर्चना गर्छन् । मातातीर्थ कुण्डमा स्नान गरेमा मातृ ऋणबाट मुक्त हुने जनश्रुति छ ।



प्रतिक्रिया दिनुहोस !