७ जेष्ठ २०८१, सोमबार

घरेलु मदिरा ब्रान्डिङ गर्दै पर्वतको महाशिला गाउँपालिका

प्रकाशित मिति :  10 May, 2024 1:00 pm


काठमाडौं । पर्वतको महाशिला गाउँपालिकाले ग्रामीण क्षेत्रमा उत्पादन हुने घरेलु मदिरालाई ब्रान्डिङ गर्ने भएको छ। मदिरा ब्रान्डिङका लागि पालिकाले अनुसन्धान सुरु गरेको महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरीप्रसाद भुसालले बताए ।

पालिकाका विभिन्न वडामा व्यावसायिकरुपमा उत्पादन हुँदै आएको कोदो, भात, सुन्तला, किबीलगायतको मदिरालाई ब्रान्डिङ गर्न पालिकाले अनुसन्धानको कामलाई सर्च नेपालसँगको सहकार्यमा अघि बढाएको गाउँपालिकाका अध्यक्ष भुसालले जानकारी दिए ।

गाउँपालिकाको अघिल्लो गाउँसभाबाट घरेलु मदिराको अध्ययन अनुसन्धान गर्ने निर्णय पारित गरेको थियो। छिमेकी जिल्ला स्याङ्जा र कास्कीमासमेत घरेलु मदिरा ब्रान्डिङ गरी बिक्रीवितरण गरिरहेको अवस्थामा महाशिलाले पनि कार्यक्रम अघि बढाएको अध्यक्ष भूसालको भनाई छ ।

घरेलु मदिरा कोदो, मकै, चामल, केरा, भोगटे, जुनार, जौ, आरुबखडालगायत विभिन्न जातका अन्न तथा फलफूलबाट उत्पादन गर्ने गरिएको छ । उँपालिकामा कोदोको बढी सम्भावना भएकाले कोदोको मदिरालाई प्राथमिकता दिएर अनुसन्धान गरिएको अध्यक्ष भुसालले बताए।

‘सर्च नेपालले गरेको उक्त अनुसन्धानमा कोदोको गुणस्तरीय मदिरा सङ्कलन गरिएको र नमुना सङ्कलनका लागि सबै वडामा तामाका भाँडा प्रयोग गरी मदिरा बनाइएको छ।

सङ्कलन गरिएका नमुनामा अल्कोहलको मात्रा पत्ता लगाएर खानयोग्य मदिरामा अल्कोहलको मात्रा खुलाई ब्रान्डिङ गर्न सिफारिस गरिने सर्च नेपालले जनाएको छ । ब्रान्डिङ भए पनि अहिले अवैधरुपमा उत्पादन हुँदै आएको मदिरालाई व्यवस्थितरुपमा उद्योग सञ्चालन गरी उत्पादन अनुमति प्रदान गरिने भएको छ।



प्रतिक्रिया दिनुहोस !