७ जेष्ठ २०८१, सोमबार

काभ्रे ज्यामिरकोटको ज्ञानोदय स्कुलका विद्यार्थीलाई पोशाक र ब्याग वितरण

प्रकाशित मिति :  10 May, 2024 9:15 pm


काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका–२ ज्यामिरकोटमा रहेको ज्ञानोदय आधारभुत स्कुलमा शैक्षिक शत्र २०८१ मा अध्ययनरत विद्यार्थीका लागि अतिरिक्त पोशाक र ब्याग वितरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहाल र पाँचखाल नगरपालिकाका प्रशासकीय अधिकृत सुर्य प्रसाद गौतमको उपस्थितिमा आज पोशाक र व्याग वितरण गरिएको हो ।

अध्यक्ष दाहालको अगुवाईमा झण्डै डेढ लाख रुपैयाँ बराबरको पोशाक र ब्याग वितरण गरिएको हो । विद्यालयका सय जना विद्यार्थीलाई निःशुल्क ट्रयाक सुट र ब्याग वितरण गरिएको जानकारी अध्यक्ष दाहालले जानकारी दिए ।

कार्यक्रममा वडाअध्यक्ष रामेश्वर दाहालले आगामी दिनमा विद्यालयको शिक्षा सुधारका लागि राम्रा र उत्कृष्ट कार्यक्रम ल्याइने जानकारी दिए ।

कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक मेघनाथ अधिकारीले विद्यालयमा भएका विभिन्न गतिविधिबारे जानकारी गराएका थिए । विद्यालयमा गत वर्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले अक्षय कोषका लागि रु २५ हजार रुपैयाँ समेत प्रदान गरेका थिए । गत वर्ष नै कोषका लागि १ लाख २५ हजारको प्रतिबद्धता आएको थियो ।

अहिले कोष बढ्ने क्रममा रहेको अध्यक्ष दाहालले जानकारी दिए । पाँचखाल नगरपालिकाका प्रशासकीय अधिकृत सुर्य प्रसाद गौतमले यस विद्यालयमा शिक्षक दरवन्दी कम भएकाले आगामी आर्थिक वर्षबाट सकेसम्म शिक्षक दरवन्दी थप गरि पठाउने बताए ।

शिक्षा शाखा प्रमुख उदय कोइरालाले विद्यालयमा पालिकाको सबै निर्देशन पालना गर्दै शैक्षिक गुणस्तरमा विशेष ध्यान दिन अनुरोध गरे । उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका सदस्य एवं पाँचखाल बाणिज्य संघका अध्यक्ष राजन कार्कीले संघको तर्फबाट ब्याग र शैक्षिक सामग्री उपलब्ध गराएका थिए ।

उनले आगामी दिनमा पनि विद्यालयलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रदेश सरकारको सहयोगमा विद्यालयलाई आवश्यक शैक्षिक सामग्री एवं अन्य कुरा खरिदका लागि अनुदान परेकोले विद्यालयमा अब सबै सुविधा हुने अध्यक्ष दाहालको भनाई थियो ।

उनले गुणस्तरीय शिक्षा प्राप्तिका लागि विद्यालयमा नानीबाबु भर्ना गर्न आग्रह गरे ।

विद्यार्थीहरूलाई पोशाक खरिद गर्न आर्थिक सहयोग गर्ने उद्योग वाणिज्य महासंघ, नेपाल डेरी एसोसिएसन, रोटरी क्लब अफ कपन, समानन्तर ग्रुप लगायतलाई अध्यक्ष दाहालले धन्यवाद दिएका छन् । दाहाल नेपाल डेरी एसोसिएसनका अध्यक्ष समेत हुन् ।



प्रतिक्रिया दिनुहोस !