२२ बैशाख २०८१, शनिबार

कोरोना :अमेरीकामा अगष्टको सुरुवातसम्म कम्तिमा १ लाख ४७ हजार व्यक्तिको ज्यान जान सक्ने

प्रकाशित मिति :  13 May, 2020 7:50 am


काठमाण्डौं, ३१ वैशाख ।

अमेरीकामा कोरोनाका कारण आउँदो अगष्टको पहिलो हप्तासम्म कम्तिमा १ लाख ४७ हजार व्यक्तिको ज्यान जान सक्ने अनुसन्धान कर्ताहरुले चेतावनी दिएका छन् ।

यूनिभर्सिटी अफ वासिङ्टन इन्ष्टिच्यूट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुयसनले अगष्ट महिनाको सुरुवातसम्म एक लाख ४७ हजार भन्दा बढीको ज्यान जान सक्ने चेतावनी दिएको हो । तथ्याङ्क सार्वजनिक गर्दै उक्त संस्थाले यसअघि गरेको अनुमान भन्दा १० हजार बढी मानिसको ज्यान जान सक्ने उल्लेख गरेको छ ।

उक्त संस्थाका सोधकर्ताले संक्रमण रोक्नका लागि गरिएको लकडाउन खुकुलो जोखिमपूर्ण हुनसक्ने चेतावी दिएका छन् । संस्थाले अमेरीकामा संक्रमण निरन्तर बढीरहेको र यो निकै खतरनाक देखिएको बताएको छ ।

यसैबीच अमेरीकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा.एन्थनी फाउचीले अमेरीकाका सीनेटरहरुलाई लकडाउन खुलाउने विषयमा चेतावनी दिएका छन् । उनले लकडाउन खुकुलो बनाए संक्रमण तिब्र फैलन सक्ने बताएका छन् ।

लकडाउन खुकुलो बनाएपनि निर्देशिका पालना नभए लाखौं मानिसहरु कोरोनाको चपेटामा पर्ने उनको चेतावनी छ । डा.फाउचीले भिडियो कन्फ्रेन्स मार्फत अमेरीकाको सिनेटलाई सम्बोधन गर्दै लकडाउन खुकुलो भएको क्षेत्रमा संक्रमित फैलिएको भन्दै यसलाई सम्हाल्न चुनौतिपूर्ण हुने बताएका छन् ।

अहिलेसम्म अमेरीकामा मात्रै ८२ हजार ३ सय ३९ जनाको ज्यान गएको छ भने १३ लाख ६९ हजार ३ सय ८६ संक्रमित बनेका छन् । विश्वभर २ लाख ९१ हजार ८ सय ४३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४२ लाख ५९ हजार २ सय ५५ पुगेको छ ।

छिमेकी मुलुक भारतमा समेत संक्रमितको संख्या तिब्र बढेको छ । अहिलेसम्म ७४ हजार २ सय ९२ जना संक्रमित बनेका छन् भने २४ सय १५ को मृत्यु भएको छ । नेपालमा हिजो मात्रै ८३ जनामा संक्रमित भेटिएका छन् । यो संगै देशभर २ सय १७ जना कोरोना संक्रमित बनेका छन् ।



प्रतिक्रिया दिनुहोस !