३ असार २०८१, आइतबार

लुम्बिनी प्रदेशको जिडिपी ५ वर्षमा ५० प्रतिशतले वृद्धि

प्रकाशित मिति :  23 May, 2024 6:14 pm


काठमाडौँ । लुम्बिनी प्रदेशको कुल गार्हस्थ उत्पादन (जिडिपी) ५ वर्षमा ५० प्रतिशतले वृद्धि भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार लुम्बिनी प्रदेशको कुल ग्राहस्थ उत्पादन ५ वर्षमा ५०.७४ प्रतिशतले बढेको हो ।

आर्थिक वर्ष २०७५/२०७६ मा ५ खर्ब ४० अर्बको जिडिपी आकार रहेको लुम्बिनीको उपभोक्ता मूल्यमा चालु आ.व. २०८०/८१ का लागि करिब रु. ८ खर्ब १४ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ ।

आ.व. २०७९/०८० मा करिब रु. ७ खर्ब ६४ अर्ब रहने संशोधित अनुमान गरिएको छ । चालु आ.व. मा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ उत्पादनमा १४.२६ प्रतिशत योगदान पुर्‍याउने प्रारम्भिक अनुमान गरिएको छ ।

गत आ.व. २०७९/०८० मा यस प्रदेशले १४.२९ प्रतिशत योगदान पुर्‍याउने संशोधित अनुमान छ ।

त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ उत्पादनको वृद्धिदर चालु आ.व. २०८०/०८१ मा ४.०५ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आ.व. २०७९/०८० मा १.९९ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ ।

चालु आ.व. २०८०/०८१ मा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै (२९.६३ प्रतिशत) योगदान कृषि, वन तथा मत्य क्षेत्रको रहने र सबैभन्दा न्यून (०.३४ प्रतिशत) योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान रहेको छ ।

गत गत आ.व. २०७९/०८० मा पनि कृषि क्षेत्रको योगदान अग्रस्थान (२९.२७ प्रतिशत) मा हुने प्रारम्भिक अनुमान र प्रशासनिक सहयोगी सेवा क्षेत्रको योगदान अन्तिम स्थान (०.३३ प्रतिशत) मा रहने संशोधित अनुमान गरिएको छ ।

लुम्बिनी प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालु आ.व. २०८०/०८१ का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै (२८.९३ प्रतिशत) विद्युत क्षेत्रको र सबैभन्दा थोरै (–१.४३ प्रतिशत) उत्पादनमूलक उद्योग क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ ।

त्यसैगरी, गत आ.व. २०७९/०८० का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै (२०.५७ प्रतिशत) विद्युत क्षेत्रको र सबैभन्दा थोरै (–३.१४ प्रतिशत) थोक तथा खुद्रा व्यापार र मोटर भेहिकल मर्मत क्षेत्रको रहने संशोधित अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !